महालक्ष्मी विकास बैंकको नाफामा झिनो गिरावट
वितरणयोग्य नाफाबाट दिन मिल्छ २० प्रतिशतसम्म लाभांश
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत वर्षको यसैअवधिको भन्दा १.१४ प्रतिशतले कम हो । गत वर्ष यसले ९ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ९.५२ प्रतिशतले बढेर ४८ करोड ३२ लाख कायम भएको छ ।
गत वर्ष उक्त आम्दानी ४४ करोड १२ लाख रुपैयाँ थियो । बैंकको इम्पेयरमेन्ट चार्ज १२ करोड ४१ लाखबाट बढेर १६ करोड ३६ लाख रुपैयाँ कायम भएको छ ।
उक्त चार्ज बढ्दा नाफामा झिनो गिरावट देखिएको हो । यता, सञ्चालन नाफा २.५५ प्रतिशत घटेको छ । बैंकको वितरणयोग्य नाफा भने ४३.८३ प्रतिशतले बढेर २१ करोड ४१ लाख पुगेको छ ।
उक्त रकमबाट यसले २०.५४ प्रतिशतसम्म लाभांश दिन सक्छ । चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ९.०४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ४८ पैसा रहेको छ ।




























