अधिक तरलता : बैंकहरुले १ दिनमै राखे राष्ट्र बैंकमा ६५ अर्ब रुपैयाँ निक्षेप
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा विगत लामो समयदेखि अधिक तरलताको अवस्था छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले १ दिनमै नेपाल राष्ट्र बैंकमा ६५ अर्बभन्दा बढी रुपैयाँ निक्षेप राखेका छन् ।
बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै ६५ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका हुन् ।
गत फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो । उक्त सुविधा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ८ खर्ब २५ अर्ब १० करोड निक्षेप राखिसकेका छन् । बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् ।
स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन ।