एनआइसी एसिया बैंकको खुद नाफामा गिरावट
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४१.८४ प्रतिशतले कम हो ।
गत वर्ष यो बैंकले ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ । सञ्चालन नाफा ४ अर्ब ६९ करोडबाट घटेर ३ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ ।
यसको इम्पेयरमेन्ट चार्ज ४८ करोड पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा घटेको हो । यसको वितरणयोग्य नाफा भने ऋणात्मक छ ।
एनआइसीको खराब कर्जा दर ०.५८ प्रतिशत विन्दुबाट बढेर १.१९ प्रतिशतमा पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
जगेडा कोषमा १६ अर्ब २७ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १८ पैसाले घटेर २५ रुपैयाँ ५९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०५ रुपैयाँ २८ पैसा रहेको छ ।