मुक्तिनाथ विकास बैंकको खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रुपैयाँमा सीमित
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्राभवित भएको हो ।खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ । गत वर्ष ४४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा पनि ३१।०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँमा आएको छ । खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । वितरण योग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ ।