नेपाल राष्ट्र बैंकले बजारबाट फेरि २५ अर्ब रुपैयाँ तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बुधबार (पुस १८ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ ३ गते निर्धारण भएको छ ।
हिजो मंगलबार मात्रै केन्द्रीय बैंकले बजारबाट १० अर्ब रुपैयाँ तानेको थियो । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।