ट्रेजरी मार्फत नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

आर्थिक सञ्जाल
काठमाडौं । १४ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि १२ अर्ब २६ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ २३ गते परिपक्क हुनेछ ।
त्यस्तै, १ वर्षको लागि १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुन लागेको हो । यो ट्रेजरी २०७८ जेठ २५ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीनअ वधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथावित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।