१० दिनका लागि नियमित उडान खोल्ने सरकारको तयारी

आर्थिक सञ्जाल
काठमाडौं । विदेशमा रहेका आफ्ना नागरिक ल्याउन १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारले तयारी गरेको छ ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्ने बारे प्रस्ताव गएको छ । सम्भवतः उक्त प्रस्तावमा सोमबार निर्णय हुन सक्ने स्रोतले बताएको छ ।
हालसम्म नेपालबाट विदेश जाने नेपाली वा विदेशी नागरिकहरुका लागि चार्टर फ्लाइट मार्फत् उडान भइरहेको भए पनि नेपाल ल्याउनका लागि हालसम्म कुनै फ्लाइट भएको छैन ।
केही दिनअघि युएई र म्यानमारले उक्त देशमा रोकिएका नेपाली नागरिकहरुलाई उनीहरुकै विमानबाट नेपाल ल्याइ दिएको थियो । विदेशमा अलपत्र वा समस्यामा परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि चार्टर उडान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहँदा पर्यटन मन्त्रालयको योजनामा सबै एयरलाइन्सलाई खुल्ला गर्ने गरी उडान गर्न दिने तयारी भएको छ ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार यो प्रस्तावमा मन्त्रालयमा धेरै पटक छलफल भएको र नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई उडान गर्न दिने गरी १० दिनका लागि खुल्ला गर्ने प्रस्ताव उच्चस्तरीय समितिमा पुर्याएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।