citizens life insurance long ad
stcnepal long ad

विश्वभर इलेक्ट्रिक गाडीको बिक्री फेरि पुनः वृद्धि

 अक्टोबरमा २० लाखभन्दा बढी बिक्री

Nimb long ad
Prabhu Insurance Long Ad

विश्व बजारमा इलेक्ट्रिक गाडीको बिक्री अक्टोबर महिनामा पुनः वृद्धि भएको छ। बेलायतस्थित अनुसन्धान संस्था बेन्चमार्क मिनरल इन्टेलिजेन्स (बीएमआई) का अनुसार अमेरिकामा गत वर्षको तुलनात्मक आधार कमजोर हुनु र युरोपमा बिक्री निरन्तर बढ्नुले विश्वव्यापी इलेक्ट्रिक गाडीको बजारलाई पुनः वृद्धिको बाटोमा फर्काएको हो।

बीएमआईको तथ्यांकअनुसार अक्टोबरमा विश्वभर ब्याट्री इलेक्ट्रिक भेइकल (बीईभी) र प्लग–इन हाइब्रिड इलेक्ट्रिक भेइकल (पीएचईभी) गरी २० लाख ९० हजार युनिट बिक्री भएका छन्।

यो गत वर्षको सोही महिनाको तुलनामा ८ प्रतिशत बढी हो। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म भने विश्वभर यस्ता गाडीको बिक्री १ करोड ७५ लाख युनिट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत बढी हो।

बीएमआईका डाटा म्यानेजर चार्ल्स लेस्टरका अनुसार चीनको आन्तरिक बजारमा बिक्री घटे पनि त्यहाँका सवारी उत्पादकले निर्यातमा जोड दिएका छन्। यसले चीनबाहिरका बजारमा इलेक्ट्रिक गाडीको बिक्री बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

अक्टोबरमा चीनको आन्तरिक बजारमा इलेक्ट्रिक गाडीको बिक्री अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले घटेको थियो। तर, चिनियाँ उत्पादकले निर्यात बढाउँदा यात्रुवाहक नयाँ ऊर्जा सवारीसाधन (एनईभी) को निर्यात करिब ६ लाख युनिट पुगेको छ। यो एक महिनामा भएको अहिलेसम्मकै उच्च निर्यात हो।

युरोपमा भने इलेक्ट्रिक गाडीको बिक्री ३६ प्रतिशतले बढेको छ। सरकारी अनुदान, इन्धनको बढ्दो मूल्य, युरोपेली संघको उत्सर्जनसम्बन्धी नियम तथा बजारमा नयाँ मोडलको संख्या बढ्दै जानुले बिक्री वृद्धिमा सहयोग पुर्‍याएको बीएमआईको विश्लेषण छ।

अमेरिकी बजारमा भने अक्टोबर महिना विशेष रहेको छ। गत वर्षको अक्टोबरपछि पहिलोपटक संघीय सरकारले उपलब्ध गराउँदै आएको इलेक्ट्रिक गाडी खरिदसम्बन्धी कर छुटबिनाको अवधिसँग तुलना गरिएको हो।

यसले गर्दा अमेरिकी बजारको तुलनात्मक आधारमा परिवर्तन आएको छ। समग्र उत्तर अमेरिकी बजारमा अक्टोबरमा २४ प्रतिशत वृद्धि देखिए पनि अमेरिकाको बजार भने पहिलेको उच्च स्तरमा फर्कनुको सट्टा तुलनात्मक रूपमा तल्लो स्तरमा स्थिर भएको लेस्टरले बताएका छन्।

विश्वका अन्य बजारमा भने इलेक्ट्रिक गाडीको बिक्री ८५ प्रतिशतले बढेको छ। यो क्षेत्रको बिक्री उत्तर अमेरिकी बजारको भन्दा पनि बढी रहेको छ। चीनबाट हुने निर्यातमा आएको वृद्धिले अन्य बजारमा बिक्री बढाउन ठूलो भूमिका खेलेको बीएमआईले जनाएको छ।

अक्टोबरको तथ्यांकले विश्व इलेक्ट्रिक गाडी बजारमा क्षेत्रगत रूपमा फरक प्रवृत्ति देखाएको छ। चीनको आन्तरिक बजारमा गिरावट आए पनि निर्यात, युरोपको बलियो माग र अन्य बजारको तीव्र विस्तारले विश्वव्यापी बिक्रीलाई पुनः वृद्धितर्फ डोर्‍याएको छ।

IME Life
kumari