स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ सार्वजनिक
काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ ‘सुजुकी एक्सेस १२५ कनेक्टेड’ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा उक्त नयाँ स्कुटर सार्वजनिक गरेको हो।
नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग सहजै जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा दिइएको छ। यस प्रविधिका माध्यमबाट स्कुटर चलाइरहेकै समयमा चालकले आवश्यक विभिन्न उपयोगी जानकारीहरू प्राप्त गर्न सक्नेछन्।
यस स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, अनुमानित यात्रा समय, आउने फोनको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री र नेटवर्कको स्थिति, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान र सर्भिस रिमाइन्डरजस्ता आधुनिक सुविधाहरू उपलब्ध गराइएको छ।
कनेक्टिभिटी फिचरका साथै यस स्कुटरमा सुजुकीको भरपर्दो १२४ सीसी इन्जिन रहेको छ। दैनिक सहरी यात्रालाई थप सहज, सुरक्षित र सुविधाजनक बनाउने उद्देश्यले यसमा विभिन्न व्यावहारिक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालि रहेको छ। नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल हाल नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा अवलोकन तथा प्रदर्शनका लागि राखिएको छ।





















