बिएमडब्लु कारको गुणस्तर नियन्त्रणमा एआईको प्रयोग

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वभर चर्चा पाएको छ । डेटा विश्लेषण गर्नेदेखि यथार्थपरक तस्बिर तथा भिडियोहरू सिर्जना गर्ने र रोगहरूको निदान गर्नेसम्मका कार्यहरु एआईको प्रयोग मार्फत हुँदै आएको छ । अटोमोबाइल क्षेत्रमा पनि यसको प्रयोग व्यापक बन्दै गएको छ ।
जर्मन कार निर्माता बिएमडब्लुले आफ्ना सवारीसाधनहरूको गुणस्तर सुधार गर्न एआई प्रयोग गरिरहेको छ । जर्मनीको रेजेन्सबर्गमा रहेको प्लान्टले ‘जेन एआईफोरक्यू’ नामक पाइलट परियोजना नै सञ्चालन गरी सवारी साधनको गुणस्तर नियन्त्रणलाई पहिलेभन्दा छिटो र भरपर्दो बनाउन थालेको हो ।
यो नयाँ प्रविधिले प्रत्येक दिन निर्मित १ हजार ४०० हाराहारी सवारी साधनको निरीक्षण गर्दै आएको छ । प्लान्टमा हरेक ५७ सेकेन्डमा एउटा नयाँ कार एसेम्बली लाइनबाट बाहिर निस्कन्छ ।
हालका लागि बिएमडब्लुले सुरु गरेको यो नयाँ प्रबिधीलाई भोलिका दिनमा अन्य अटो निर्माताले समेत प्रयोगमा ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।
यो नयाँ प्रविधि बिएमडब्लु र म्युनिखमा रहेको स्टार्टअप कम्पनी डाटागन एआईले संयुक्त रूपमा विकास गरेको हो । यो प्रविधिले सवारी साधनको मोडेल र स्थापित उपकरणदेखि सम्बन्धित उत्पादन जानकारीसम्मको ठूलो मात्रामा डेटाको विश्लेषण गर्दछ ।