नेपाली बजारमा अब प्युजो ब्रान्डका स्कुटर (२ मोडलको मूल्य र फिचर सहित)

काठमाडौं । नेपाली बजारमा फ्रेन्च ब्रान्ड प्युजोका स्कुटर भित्रिएका छन् । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले यसका दुई प्रिमियम स्कुटर डिजाङगो र स्पिडफाइट ४ सार्वजनिक गरेको छ ।
प्युजो डिजाङगो १२५ सीसीको स्कुटर हो, जुन आधुनिक प्रविधि सहित रेट्रो डिजाइनमा उपलब्ध छ । यसमा एयर–कुल्ड ईएफआई इन्जिन छ, जसले १०.६ बीएचपी पावर दिन्छ, जुन स्मुद र पावरफुल राइड प्रदान गर्ने युरो फाइभ स्ट्यान्डर्डको छ ।
ठूलो बडी साइज, ठुलो ह्विल, लक गर्न मिल्ने स्टोरेज बक्स सहितको सेन्ट्रल लकिङ सिस्टम लगायत यसमा एड्भान्स्ड फिचरको रुपमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन, एबीएस ब्रेकिङ सिस्टम, इलिगेन्ट एलसीडी ड्यासबोर्ड र १२ भोल्ट चार्जिङ पोर्ट लगायतका विशेषता छन् ।
सुरक्षाका लागि यसमा साइड–स्ट्यान्ड इन्जिन प्रोटेक्सन र क्रोम प्लेटेड एक्सेन्ट्स लगायतका फिचर उपलब्ध छन् ।
प्युजो स्पिडफाइट ४ मा ९।३ किलोवाट पावर प्रदान गर्ने १५० सीसीको स्मार्टमोसन लिक्विड–कुल्ड ईएफआई इन्जिन रहेको छ, जसमा सुरक्षाका लागि ड्युअल च्यानल एबीएस, वेभी ब्रेक डिस्क आदि रहेका छन् ।
स्पोर्टी लुक्स प्रदान गर्न यसमा एलईडी लायन हेडलाइट, लाइन–क्ल टेललाइट र डिजिटल ड्यासबोर्ड लगायतका विशेषता छन् ।
प्युजो डिजाङगोको मूल्य ५ लाख ७१ हजार र स्पिडफाइट ४ को मूल्य ६ लाख ३२ हजार रुपैयाँ तोकिएको छ ।
महिन्द्रा, जावा, यज्दी लगायतका विभिन्न ब्रान्डको कारोबार गरिरहेको अग्नि ग्रुपले अब नयाँ ब्रान्डको स्कुटर समेत नेपाली बजारमा भित्र्याएको हो ।