सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक
स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर सोनी होन्डा मा उत्पादन हुने सोनी होन्डा मोबिलिटी इंक (एसएचएम)ले बजारमा ल्याउने अफिला ब्रान्ड अन्तर्गतको अफिला १ पहिलो पटक सार्वजनिक भएको छ ।
अमेरिकाको लस भेगासमा प्रारम्भ भएको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ को पूर्व सन्ध्यामा सो मोडल सार्वजनिक गरिएको हो ।
अमेरिकाको ओहायोस्थित अत्याधुनिक प्लान्टमा उत्पादन हुने सो मोडल क्यालिफोर्नियामा मात्र हाल प्रिअर्डरका लागि उपलब्ध हुनेछ । यसको बिक्री २०२५ मा प्रारम्भ भएर डेलिभरी चाहिं २०२६ को मध्यमा शुरु हुने अपेक्षा गरिएको छ ।
अफिला १ ओरिजिनको मूल्य ८९ हजार ९ सय डलरबाट प्रारम्भ हुनेछ । दुई ट्रिममा उपलब्ध हुने अर्को ट्रिम अफिला सिग्नेचरको मूल्य भने १ लाख २ हजार ९ सय डलर हुनेछ । यसमा निश्चित फिचर र सर्भिस सहित तीन वर्षको सब्स्क्रिप्सन उपलब्ध हुनेछ ।
गाडीमा एसएचएमको एडास सिस्टम हुनेछ, जसमा ४० सेन्सर हुनेछन् भने क्यामेरा, लिडार र राडार समेत हुनेछ । यसमा ८०० टप्सको कम्प्युटिङ पावर र एआई फिचर समेत हुनेछ ।
अफिला १ मा अफिला पर्सनल एजेन्ट हुनेछ, जसले अन्तक्र्रियात्मक भ्वाइस असिस्टेन्टको कार्य गर्नेछ । यसले विभिन्न कार्यमा सुझाव दिने, इन–कार फङसनलाई कन्ट्रोल गर्ने र पर्सनलाइज्ड ट्राभल एक्सपेरियन्स बनाउने समेत कार्य गर्नेछ ।
यसको क्याबिनमा रहेका प्रत्येक सिटमा सोनीको ३६० डिग्री स्पाटियल साउन्ड टेक्नोलोजी सपोर्ट गर्ने एप र कन्टेन्ट उपलब्ध हुनेछ । न्वाइज क्यान्सल र अडियो एक्सपेरियन्स बढाउने लगायतका विभिन्न फिचर यसमा हुनेछन् ।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्न लागेको अवस्थामा यो गाडी सार्वजनिक भएको छ । उनले ईभीप्रति अलि फरक दृष्टिकोण अपनाउने घोषणा गरेका छन् ।
तुलनात्मक रुपमा अलि महंगो मूल्यमा उपलब्ध हुने अफिला १ ले लक्जरी ईभी बजारलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।