आज धनतेरस : सवारी साधन किन्ने अवसर

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदै छ ।
बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।
बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।
धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहनाका साथै सवारी साधन किन्नेहरुले सवारी साधन किन्ने गर्छन् ।
त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानीन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् ।
धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ ।
यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।
सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ–तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ ।
दसैं तिहारको अवसरमा सार्वजनिक गरिएको स्किमका साथ ग्राहकलाई सवारी साधन उपलब्ध गराउने र सजाएर राखिएको सोरुमलाई झनै आकर्षक बनाउने गरिन्छ ।
त्यसैगरी पहिले नै बुकिङ गरेका गाडी यो दिन डेलिभरी लिने समेत गरिन्छ । नयाँ ग्राहकले यो दिन नगदमै गाडी खरिद गर्ने प्रचलन समेत बढ्दो छ ।
दसैंको फूलपाती, धनतेरस र तिहारको लक्ष्मी पूजाको दिन विशेष गरी सवारी साधन बढी बिक्री हुने दिन मानिन्छ ।