stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मालपोत प्रमुख सहित आठ विरुद्ध भ्रष्टाचार मुद्दा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार आठ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी तीन वटा मुद्दा दायर गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका–८ मा १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा, मालपोत अधिकृत मात्रिका दंगाल, नायव सुब्बा गोविन्द पौडेल, दुहबी नगरपालिका–८ का अध्यक्ष तारिकचन्द्र सरदार, मन्दिर व्यवस्थापन समितिबाट अख्तियारी पाएका उपाध्यक्ष उज्याला मानन्धर, जग्गा खरिदकर्ता गोविन्दकुमार बजगाईँ विरुद्ध मुद्दा दायर भएको हो ।

राधाकृष्ण मन्दिर सोनापुरको नाममा रहेको सो जग्गा दुई वर्ष अघि बजगाईँलाई बिक्री गरिएको थियो । सुरुमा सो जग्गा बजगाईँको नाममा पास गरे लगत्तै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रहेका मानन्धरले आफैँ खरिद गरेका थिए ।

सात लाख ७१ हजार प्रतिकठ्ठाका दरले बिक्री गर्ने निर्णय भएकोमा जग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर पाँच लाख २१ हजार पाँच सय, रजिस्ट्रेसन शुल्क तीन लाख ७७ हजार एक सय ५० गरी आठ लाख ९८ हजार चार सय पाँच रुपैयाँ राजस्व छली गरेको अभियोग छ ।

सुरुमा जग्गा किन्ने बजगाईँले राधाकृष्ण मन्दिरको कित्ता नम्बर १३ को जग्गा खरिद गर्दा नै रजिस्ट्रेसन दस्तुर दुई लाख १५ हजार नौ सय २० रुपैयाँ नबुझाएको खुलेको छ ।

दुहबी नगरपालिका–८ का वडाध्यक्ष तारिकचन्द्र सरदारले राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा भित्री बाटोले छोएकोमा सिफारिसमा बाटोले नछोएको भनी गलत सिफारिस दिएका थिए । जसबाट रजिस्ट्रेसन र पुँजीगत लाभकर छल्न सहज भएको थियो । उनी विरुद्ध नौ लाख १९ हजार एक सय २८ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापाले लिखत पास गर्दा स्थानीय निकायको घर बाटोको सिफारिस, जग्गाको तोकिएको न्यूनतम मूल्याङ्कन, संस्थाका नामको जग्गा पारित गर्दा व्यवस्थापन समितिको जग्गा बिक्री गर्ने निर्णयजस्ता विषय नहेरी रजिस्ट्रेसन पास गराएका थिए ।

उनी विरुद्ध सात लाख ५५ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको छ । मालपोत अधिकृत मात्रिका दंगालले गोविन्दकुमार बजगाईँको नामबाट उज्याला मानन्धरको नाममा लिखत पारित गर्दा कर छल्न सघाएका थिए ।

त्यस्तै डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध पनि मुद्दा दायर भएको छ । उनी गत महिना ६ लाख घुससहित पक्राउ परेका थिए । चुनढुङ्गा उत्खननमा सहज गरिदिने भन्दै उनले घुस लिएका थिए ।

आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहमा भएको अनियमिततामा पनि दुईजनाविरुद्ध आइतबार मुद्दा चलाएको छ । उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्ट र स्थानीय नवराज जोशी विरुद्ध मुद्दा दायर गरेको हो ।

prabhu mahalaxmi
kumari