अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार : आन्तरिक अवस्था कमजाेर
एक वर्षअघि समस्यामा देखिएको नेपालकाे अर्थतन्त्रको बाह्य क्षेत्रमा चालु आर्थिक वर्षकाे गत फागुन मसान्तसम्ममा सुधारआई त्यसअघिकै पुरानै अवस्थामा फर्किएको छ ।
गत आर्थिक वर्षमा उच्च व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चिति घट्दा सबै क्षेत्रमा त्यसले प्रभाव पारेको थियो । अहिले अर्थतन्त्रकाे बाह्य अवस्था २०७७ असार मसान्तको अवस्थामा सञ्चिति आएको छ।
नेपाल राष्ट्र बैंकले गत २०७९ चैत्र २८ गते सार्वजनिक गरेको फागुनसम्मको तथ्यांक अनुसार अहिले विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबर पुगेको छ ।
गत २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यो आठ महिनामा सञ्चिति १५.२ प्रतिशतले बढेको देखिन्छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा ९ अर्ब ५४ करोड रहेकामा १२.१ प्रतिशतले बढेर १० अर्ब ६९ करोड पुगेको छ ।
यसरी विदेशी मुद्रा सञ्चिति बढ्नुमा आयात घट्नु र रेमिटेन्स बढ्नु सबैभन्दा प्रमुख कारण रहेका छन् । यो आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंककाे दाबी छ।
यसले पनि अब नेपालमा श्रीलंका र पाकिस्तानकाे जस्ताे आर्थिक अवस्था आउदैन भन्ने प्रष्ट पारेकाे देखिन्छ । राष्ट्र बैंकका अनुसार २०७९ फागुनसम्ममा कुल वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १० खर्ब ४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैचा, चिया,कफि लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको देखिन्छ ।
यस्तै, कुल वस्तु आयात १९.१ प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.६ प्रतिशत, २१.७ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको देखिन्छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस बिलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टस् लगायतका वस्तुको आयात घटेको पाइएकाे छ ।
फागुनसम्ममा कुल वस्तु व्यापार घाटामा १७.९० प्रतिशतले कमी आई ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष फागुनसम्म यस्तो घाटा ३४.५० प्रतिशतले बढेको थियो । यो समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति, संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति,नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले बढेको छ ।
फागुनसम्ममा यसरी विदेश जाने ३ लाख ५१ हजार ७ सय ६१ जना पुगेका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या पनि ८ प्रतिशतले बढेको छ । पुनः श्रमस्वीकृति लिएर जाने १ लाख ९२ हजार ५ सय ५९ जना पुगेका छन् । अघिल्लो वर्ष फागुनसम्मकाे भन्दा यो संख्या २४०.९ प्रतिशतले बढेको छ ।
अहिले महँगी नियन्त्रित र घट्ने दिशामा रहेको राष्ट्र बैंकले दाबी गरेकाे छ । फागुनमा महँगी ७.४४ प्रतिशतमा रहेकाे छ । अघिल्लो वर्ष फागुनमा महँगी ७.१४ प्रतिशत थियो । यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ५.६४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.८७ प्रतिशतमा रहेकाे छ । याे महंगी दर स्थिर मान्न सकिन्छ।
यो अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा थियो । सेवा खाता अन्तर्गत भ्रमण आय ९८.६० प्रतिशतले बढेर ३७ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ अर्ब ७० करोड रहेकाे थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७० प्रतिशतले वृद्धि भएर ७६ अर्ब १२ करोड पुगेको देखिन्छ । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्ष यो ४ सय ६० अर्ब ७२ करोडले घाटामा रहेकाे थियो ।
यस्तै, शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेकाे छ । अघिल्लो वर्ष यो २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेकाे थियो । यसैगरि यो अवधिमा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको देखिन्छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.५ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले मात्र बढेको देखिन्छ । यस्तै, बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेकाे छ ।
अर्थतन्त्रको बाह्य सुचक सकारात्मक भएपनि राजस्व लक्ष्य अनुसार उठन नसक्दा त्यसकाे असर विकास निर्माणमा परेकाे छ। लगानी घटेकाे छ,पुँजीगत बजेट खर्च हुन सकेकाे छैन। माग पचास प्रतिशतले घटदा उद्याेगकाे उत्पादन घटेकाे छ। यसले राजस्वमा प्रभाव परेकाे छ।
यसरी हेर्दा अर्थतन्त्रको मुख्य सूचक यस्ताे पाइन्छ।
* महँगी ७.४४ प्रतिशतले वृद्वि भएकाे।
* आयात १९.१ प्रतिशतले गिरावट आएकाे।
* निर्यात २९.१ प्रतिशत घटेकाे।
* कुल वस्तु व्यापारघाटा १७.९ प्रतिशतले गिरावट आएकाे।
* रेमिटेन्स आय नेपाली रुपैयाँमा २५.३ प्रतिशतले वृद्धि भएकाे।
* अमेरिकी डलरमा १४.८ प्रतिशतले वृद्धि भएकाे।
* शोधनान्तर स्थिति १४८ अर्ब ११ करोडले बचतमा रहेकाे।
* कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रहेकाे।
* अमेरिकी डलरमा सञ्चिति १० अर्ब ६९ करोड रहेकाे।
* चालु खाता ४४ अर्ब ३१ करोड घाटामा गएकाे।























