बैंकिङ प्रणालीमा ५४ खर्ब निक्षेप, सीडी रेसियो ८५ कै लाइनमा झर्दा पनि हुन सकेको छैन आक्रामक कर्जा विस्तार
Nepal Rastra Bank
काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा ५४ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकको सोमबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
यद्दपि, आइतबारको तुलनामा निक्षेप २ अर्ब रुपैयाँले घटेको हो । वाणिज्य बैंकहरुसँग मात्रै ४७ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ अर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यता, सोमबारसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा ४८ अर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४२ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
आइतबारकोे तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानी एकै दिनमा ६ अर्ब रुपैयाँले विस्तार भएकोे राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ४४ अर्ब रुपैयाँ कजौ लगानी गरेका छन् । पछिल्लो समय केही कर्जा विस्तार भए पनि समग्रमा हेर्दा भने यो शीर्षकमा लामै समयदेखि मन्दी देखिएको अवस्था छ ।
सोमबारसम्मको तथ्यांक अनुसार सीडी रेसियो भने ८५.६३ प्रतिशत रहेको छ । जुन आइतबार भने ८२.५१ प्रतिशत थियो ।
समग्रमा बैंकहरुको सीडी रेसियो ८५ को लाइनमा रहेको छ । यसले बैंकहरुमा लगानीयोग्य रकम सहज भएको देखाउँछ । तर नियामकीय प्रावधानका कारण भने केही बैंकको सीडी रेसियो अझै पनि उच्च छ ।
सीडी रेसियो सहज हुँदै गए पनि चर्को ब्याजदरका कारण कर्जा लिनेहरु आकर्षित हुन नसकेको बैंक तथा वित्तीय संस्थाका अधिकारीहरु बताउँछन् ।
अर्थतन्त्रमा मन्दी र चर्को ब्याजदरका कारण कर्जा लिनेहरु आकर्षित नभएका हुन् । कर्जा प्रवाहलाई सहज बनाउन अब ब्याजदर घटाउनुपर्ने हुन्छ । ब्याजदर तल झार्न केन्द्रीय बैंकले पनि नीतिग व्यवस्था केही खुकुलो बनाउनुपर्ने बैंकर्सहरुले माग गरिरहेका छन् ।























