विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाउने
काठमाडौं । विकास बैंकले चैतका लागि निक्षेपको ब्याजदर घटाउने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज सोमबार बसेको बैठकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
एसोसिएसनले ब्याजदर ०.२५ प्रतिशत विन्दुसम्म घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।
संघको निर्णयअनुसार अब विकास बैंकहरुले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गर्नेछन् । त्यस्तै, एक वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम गर्नेछन् ।
हाल विकास बैंकहरुले एकवर्षे वा सोभन्दा माथि र कम दुवैको व्यक्तिगत मुद्दति निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिंदै आएका थिए ।
यसैगरी, विकास बैंकहरुले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दति निक्षेपमा ९.६०५ र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशत देखि ८.६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । विकास बैंकहरुले केही महिनादेखि निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।






















