ओलीको अभिव्यक्ति– राजतन्त्रको अन्त्य माओवादी जनयुद्धले गरेको होइन
काठमाडौं । नेकपा -एमाले_ का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको अन्त्य माओवादी जनयुद्धले नगरेको अभिव्यक्ति दिएका छन् ।
आइतबार सुखानी शहीद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले माओवादी जनयुद्धले राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाए । उनले भनेका छन्, ‘माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरेकै होइन ।’
त्यसअघि उनले भने, ‘नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । केका लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा बृहत् शान्ति सम्झौता भयो कात्तिकमा ।’
संविधान सभाकै लागि १७ हजार मान्छे मर्नु नपर्ने उनले बताए । ‘६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र ?,’ उनले प्रश्न गरे ।























