आर्थिक बृद्विदर ५.१ प्रतिशत हुने प्रक्षेपण
आर्थिक वर्ष २०२१/०२२ मा नेपालले ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले जनाएको छ ।
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा ५.१ र २०२३/०२४ मा ४.९ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै गरेको हो ।
आर्थिक वर्ष २०२१/०२२ मा नेपालले ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकको नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत संकुचन आउने भएको छ ।
नयाँ प्रक्षेपण अनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो अनुमानभन्दा १.३ प्रतिशत कम हो ।
विश्व बैंकले गत जुन महिनामा विश्व आर्थिक वृद्धिदर ३ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । विश्व बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध र कोभिड १९ महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारण मानिएको छ ।
त्यस्तै विश्व बैंकले उच्च मूल्यवृद्धि,मुद्रा स्फ्रिति, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति श्रृंखलामा देखिएको अवरोधलगायतका कारणले आर्थिक वृद्धिदरमा गिरावट जनाएको छ ।
सन् २००९ को विश्व आर्थिकमन्दी र २०२० मा कोभिड महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो आर्थिक गिरावट हुन सक्छ । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम मानिएको छ ।
भारतमा सन् २०२३ मा ६.६ प्रतिशत र सन् २०२४ मा ६।१ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान छ ।
त्यस्तै, पाकिस्तानमा सन् २०२३ मा २ प्रतिशत र सन् २०२४ मा ३.२ प्रतिशत, बङ्गलादेशमा सन् २०२३ मा ५.२ प्रतिशत र सन् २०२४ मा ६.२ प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण रहेको छ ।























