गभर्नरको मासिक तलव ४ लाख ८ हजार ७ सय
काठमाडौं । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवा सुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७ सय ७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल राष्ट्र बैंकले गभर्नर अधिकारीलाई १४ लाख १८ हजार ४ सय रुपैयाँ तलब र ३ लाख ५ हजार बैठक भत्ता र अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकको दुवै जना डेपुटी गभर्नरले १२ लाख ६९ हजार ६ सय रुपैयाँ तलब लिएका छन् । यस्तै डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले बैठक भत्ता २ लाख ७३ हजार बैठक सहित गत आर्थिक वर्षमा कुल ४२ लाख ६० हजार १ सय १३ रुपैयाँ भुक्तानी लिएकी छन् ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि १२ लाख ६९ हजार ६ सय रुपैयाँ तलब, २ लाख ९६ हजार रुपैयाँ बैठक भत्ता सहित गत आर्थिक वर्षमा सेवा सुविधा बापत १२ लाख २ हजार १७ रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
७ सदस्यीय राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर र डेपुटी गभर्नर बाहेक अन्य चार सदस्य रहेका छन् । अर्थ सचिव पनि राष्ट्र बैंक सञ्चालक हुने व्यवस्था रहेको छ ।
अन्य तीन जना सञ्चालक भने नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्ने गर्दछ । अर्थ सचिव सहित अन्य तीन जना सञ्चालकले भने तलब पाउँदैनन् ।
तर उनीहरूले बैठक भत्ता सहित अन्य सुविधा भने प्राप्त गर्छन् । गत आ.व. २०७८/७९ मा राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नरकाे तलबमा ३९ लाख ५७ हजार ६ सय रुपैयाँ भुक्तानी भएको छभने सञ्चालकको बैठक भत्ता बापत १८ लाख ९५ हजार र सञ्चालकहरूको अन्य सेवा सुविधा बापत १ करोड १३ लाख १ हजार ३ सय ११ रुपैयाँ भुक्तानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नरको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा बापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको पाइएकाे छ ।























