बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी
बुटवल । अन्यायपूर्ण तरिकाले भाडा बढाएको भन्दै उद्योगीहरूले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।
बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा उनीहरूले आइतबार बिहान विरोध जुलुससहित पुगेर व्यवस्थापन कार्यालयमा तालबन्दी गरेका हुन् ।
आइतबार बिहान १० बजे नै कालो ब्यानरसहित व्यवस्थापन कार्यालयमा पुगेका उद्योगीहरूले कार्यालयमा विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।
उनीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको चर्को मात्रामा भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गरेका छन्।
उनीहरूले कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको बताएका छन्।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
भाडा बढाउने निर्णय फिर्ता लिनुपर्ने बताए।२४ घण्टाको लागि सांकेतिक रूपमा तालाबन्दी गरिएको तर व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।
दर्जनौं संख्यामा सहभागी उद्योगी, व्यवसायीहरूले व्यवस्थापन पक्षले वृद्धि गरेको भाडा तत्काल पफिर्ता लिनुपर्ने माग अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बुटबल औद्योगिक व्यवस्थापन कार्यालका प्रमुख निमेश अधिकारीले करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नगरिएको र अहिले उठाउने भनिएको भाडा पनि २०७५ सालमा गरिएको निर्णय अनुसारको रहेको बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड रुपैयाँ भाडावापतको बक्यौता उठाउन बाँकी छ ।
बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपैयाँ भाडा लिँदै आएकोमा २०७५ सालमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको थियो ।


























