नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १०५% ले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगे
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १०५ प्रतिशत ले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक सुधार भएकोे छ ।
अघिल्लो वर्ष ७१ करोड ४७ लाख रुपैयाँ मात्र रहेको वितरणयोग्य नाफा अहिले २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढ्न पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशत ले बढेर ५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले ५ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३१.४१ प्रतिशतले बढेर ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३२ पैसाले बढेर २२ रुपैयाँ ३२ पैसा (वार्षिक) पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ (वार्षिक) रहेको थियो । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा छ ।
























