नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारणसभा
हस्तकला महासंघका १३ बुँदे माग
काठमाडौं । नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको विकाश विस्तार र निर्यात प्रवद्र्धनका लागि पहल गर्ने आश्वासन दिनु भएको छ ।
मन्त्री भुसालले महासंघले अघि सारेका माग सम्वोधनका लागि पहल गर्ने आश्वास दिनु भएको हो । साथै उहाँले स्वदेशमै उपलव्ध वस्तु आयात नर्गन पनि व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
त्यसरी आयात गर्दा व्यवसायीलाई फाइदा भएपनि राष्ट्रलाई घाटा हुने भन्दै नाफामात्रै नहेर्न आग्रह गर्नुभएको हो । महासंघले साधारणसभामा मार्फत सरकार समक्ष विभिन्न १३ बुँदे माग प्रस्तुत गरेको छ ।
कोरोनाबाट प्रभावित हस्तकलाको निर्यात प्रवद्र्धनका लागि हालको नगद प्रोत्साहन दर कम्तिमा पनि डवल डिजिट गर्नुपर्ने र नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवम कार्यविधि सरलीकृत गर्नुपर्ने माग गरेको छ ।
महासंघ अध्यक्ष सुुरेन्द्र भाइ शाक्यले १३ बु्ँदे माग प्रस्तुत गर्दै निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेसन प्रमाणपत्र गरी गर्ने व्यवस्था हुनुपर्ने, त्रिभुवन अन्तराष्टिय विमानस्थल भन्सार कार्यालय लगायत मालसामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयलाई निर्यात मैत्री बनाइनु पर्ने, अन्तराष्टिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गरी प्रवद्र्धन गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिन्हको विकास र प्रचार–प्रसारमा सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै सातवटै प्रदेशमा हस्तकलाग्राम स्थापनाका लागि विद्युत, सडक र पानी लगायतका आवश्यक भौतिक पूर्वाधारको पहुँच भएको क्षेत्रमा जग्गा उपलव्ध गराउनु पर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वोर्ड अफ ट्रेड र भन्सार विभाग अन्तर्गत निकासी सहजीकरण समितिमा महासंघको पनि प्रतिनिधित्व हुुनुपर्ने, चीनमा व्यापार, व्यवसाय र व्यापार मेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैकिङ च्यानलबाट नेपाल ल्याउन पाउने व्यवस्था गरिनु पर्ने, सरकार तथा विदेश स्थित नेपाली दूतावास लगायत सबै सरकारी निकायमा नेपाली हस्तकला प्रयोग गरिनु पर्ने, स्वदेशी वस्तु प्रवद्र्धनका लागि निजामति कर्मचारीहरुलाइ स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य गरिनु पर्ने लगायत रहेका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर र शाक्य ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरपालिका मेयर शाक्यले हस्तकलाको औद्योगिक ग्रामका लागि जग्गाको व्यवस्था गरेमा महानगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले पनि निर्यात व्यापारमा हस्तकलाको महत्वपूर्ण योगदान रहेको भन्दै हस्तकलाको प्रवद्र्धन सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा लाइफ टाइम अचिपमेन्त अवार्ड बाट ईन्द्र बहादुर शाक्य सम्मानित हुनु भयो तथा हस्तकलाका उत्कृष्ट निर्यातकर्ता, उद्यमी, महासंघका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष रवीन्द्र शाक्य, पूर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । शनिबारसम्म संचालन हुने महासंघको ४१ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।

























