काउन्सिलको नियमन बारे छलफल
काठमाडौं । युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यसको नियमन तथा व्यवस्थापन सम्बन्धी विज्ञसँग प्रेस काउन्सिल नेपालले आज अन्तरक्रिया गरेको छ ।
सो छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा पत्रकार माधव चौलागाईँले सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने भन्दै काउन्सिलको पहिलो प्राथमिकता यस विषयमा जनचेतना फैलाउनु पर्ने धारणा राखेका छन् ।
छलफलमा विज्ञ उज्ज्वल आचार्यले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने बताउदै उनले मिडिया र सोसल मिडियाको समस्या फरक भएकाले नियामक निकायहरूबिच सहकार्य हुनु आवश्यक भएको बताएका छन् ।
कार्यक्रममा अधिवक्ता बाबुराम अर्यालले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै अनुमतिबेगर खिचिएको भिडियो, यौनजन्य भिडियो लगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ट पारेका छन । काउन्सिलले सैद्धान्तिकरूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन उनको सुझाव छ ।
पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताउदै पत्रकारिताको न्यूनतम मूल्य–मान्यता कायम राख्नकै लागि भए पनि सामाजिक सञ्जालबाट दिइने सामग्रीको अध्ययन हुनुपर्ने बताएका छन् ।
छलफलमा इञ्जिनियर विरोध रिजालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियोरभिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गर्दै सामाजिक सञ्जालको आफ्नै मूल्य–मान्यता हुने भएकाले कुन कन्टेनमा रिपोर्टिङ्ग गर्ने भन्ने विषयले अर्थ लाग्ने बताए ।
कार्यक्रममा पत्रकार घनेन्द्र ओझाले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने भन्दै काउन्सिलले सामाजिक सञ्जाललाई हेर्नु नपर्ने बताएका छन् । कसैले सञ्जालबाट गलत गरेमा सोही सञ्जालबाट बहिस्कृत हुने भन्दै उनले काउन्सिलले सञ्चारजगतलाई हेर्नुपर्ने बताएका छन् ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सोसल मिडियाबाट आउने अडियो–भिडियो सामग्रीहरूमा पत्रकारिता भएरनभएकोबारे बुझ्न र काउन्सिललाई सुझाव दिन छलफल राखिएको बताउदै इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर भएको भन्दै उनले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार र मिडिया के हो भन्ने बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिँदै आएका अभ्यासको समीक्षा गर्ने समय आएको बताएका छन् । भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उनले बताएका छन् ।
बोर्ड सदस्य शरद प्रसाद अधिकारीले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताएका छन । छलफलमा काउन्सिल मुख्य अधिकृत झबिन्द्र भुसालले प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्र पनि फराकिलो बन्दै गएकाले समस्याहरू बढेको बताउदै ।
उनले सामाजिक सञ्जाल लगायत इन्टरनेटका माध्यमबाट प्रकासन हुने सामग्रीलाई पत्रकारिता भनेर अङ्गिकार गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलता रहेको बताएका छन् ।
वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहभागीबाट आएका सल्लाह र सुझावबाट युट्युबलगायत सामाजिक सञ्जाल र अनलाइन मिडियालाई व्यवस्थित गर्ने विषयमा गृहकार्य गर्न सहज हुने बताएका छन् ।
कार्यक्रममा उप–प्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालका नाममा बढ्दो बेथिति रोक्न काउन्सिलले प्रयास गरिरहेको बताएका छन् ।






















