सेयर बजार १९.२९ अंकले बृद्वि
काठमाडौं । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन आज माघ १८ गते मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १९.२९ अंकले बढेर २८९१.३३ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकारहरूका अनुसार चुनाव हुने आशा बढ्दै गएकोले लगानीकर्ताको मनोबल पनि बढेकोले बजार बढेको बताउछन । अस्ति ठूलो अंकले बजार बढेको थियो । सोही कारण हिजो करेक्सन आयो । आज बजार सम्हालिएको छ।’
ठूला लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन। अहिले बजारमा अल्पकालीन लगानीकर्ताहरु हावी भएको सेयर विश्लेषकहरू बताउँछन्।
प्राविधिक रुपमा बजार सकारात्मक नै रहेको छ। बजारमा तत्काल ठूलो अंकको करेक्सन देखिँदैन। अब वैशाखबाट बजारमा नयाँ महौल आउन सक्छ किनकि सेयर बजारमा वैशाखबाट फूल फुल्ने सिजन हो।
अहिले बजारको माहौल राम्रो देखिएको छ। हिजोको करेक्सन सामान्य थियो। अब चुनावको महौल पनि आउँदैछ। त्यसैले सेयर बजार सकारात्मक ढंगले नै अगाडि बढ्ने देखिन्छ।
चुनावी माहौललाई आधार बनाएर लगानीकर्ताहरुले लगानी गरेको प्रस्ट हुने देखिन्छ। लगानीकर्ताले सहज रुपमा ऋण नपाए पनि बजारमा लगानीका लागि रकम अभाव भएको छैन।
किनकि हाम्रो औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र ठूलो छ। आजको सेयर बृद्विमा पनि जलविद्युत कम्पनीहरुकै सेयरभाउ बढेकोले आगामी दिनमा पनि लो क्याप भएका कम्पनीहरुकै सेयरभाउ बढ्ने सम्भावना रहेको देखिन्छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। आज जलविद्युत समूह सर्वाधिक ३.२२ प्रतिशतले उकालो लागेको छ । विकास बैंक समूह १.६१ प्रतिशतले बढेको छ।
आज बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा १.४४ प्रतिशत, लगानी समूहमा ०.११ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.०४ प्रतिशतको बढोत्तरी आएको छ।
आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.१८ प्रतिशतको गिरावट आएको छ। व्यापार समूह ०.१७ प्रतिशतले ओरालो लागेकोछ। आज होटेल तथा पर्यटन समूहमा ०.०८ प्रतिशत र जीवन बीमा समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु:-
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा किनबेच भएका छन्। आज नेसनल हाइड्रोपावरको सर्वाधिक ३९ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको आज अपी पावरको ३५ करोड ७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३४ करोड रुपैयाँ, एचआईडीसीएलको ३० करोड ४ लाख रुपैयाँ, अरुण काबेली पावरको २३ करोड ९९ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको २० करोड ४ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको १७ करोड ६७ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १२ करोड ७९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:-
आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज नेरुडे लघुवित्तको सेयरधनीहरुले धेरै गुमाएका छन। यो लघुवित्तको सेयरभाउमा ३ प्रतिशत बढीको गिरावट आएको छ।

























