stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उत्तरी नाकाबाट आयात निर्यात न्यून

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सिन्धुपाल्चोक । चीनले केरुङ र तातोपानी नाकाबाट हुने व्यापारलाई एकपक्षीय रूपमा बन्द र खुला गर्न थालेपछि आयात निर्यातमा समस्या भएको छ। दुवै नाकामा विभिन्न बहाना बनाएर चीनले ज्यादै कम मात्रै व्यापारिक कारोबार गर्दै आएको छ।

यसले गर्दा नेपाली व्यापारी, व्यवसायीले ठूलो घाटा सहनुपरेको छ भने पेसाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ।

२०७२ सालको भूकम्पदेखि नै चीनले न्यून कारोबार गरिरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो। उहाँले पूर्ण रूपमा नाका नखुलेका कारण नेपाललाई समस्या भइरहेको बताउनुभयो।

तातोपानी नाका र केरुङ नाका पूर्ण रूपमा खोल्न र दुवै देशबाट आयात निर्यात सञ्चालन गर्न पटकपटक चीनलाई गरिएको आग्रहको सुनुवाइ नभएको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो।

गत पुस १६ गते चीनको खासा, न्यालाम क्षेत्रमा करिब सात फिट बाक्लो हिमपातका कारण चिनियाँ कन्टेनर उक्त क्षेत्रमा नै रोकिएपछि नेपाली व्यापारीले ल्याएका सामान झन्डै दुई साता चिनियाँ क्षेत्रमा रोकिएका थिए।

हिउँले आधा भाग पुरिएका कन्टेनरका सामान कुहिने र पानीले भिजेर काम नलाग्ने भएका थिए। गत वर्ष कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनले नै दुई पटक तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। यसले गर्दा नेपाली व्यापारीको सामान बोकेका सयौँ कन्टेनर चीनको भूमिमा नै लामो समयसम्म थन्किएका थिए।

२०७६ जेठमा तिब्बतको स्थानीय प्रशासन न्यालम कन्ट्रीले खासा क्षेत्रभन्दा ३५ किलोमिटरमाथि रहेको ‘क्यानोन कू’ ताल फुट्न लागेको भन्दै तीन महिनाभन्दा बढी समय चीनले नाका पूर्ण रूपमा बन्द गरेको थियो।

अहिले चीनले तातोपानीस्थित मितेरी पुलको बीच भागमा चिनियाँ ट्रेलरमार्फत सामान ल्याएर छाडिदिने गरेको छ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले अहिले तातोपानी नाकाबाट दैनिक सात टेलर रोल कपडा, मेसिनरी सामान, रेडिमेड सामान आइरहेको जानकारी दिनुभयो।

कोरोना महामारी, मौसम प्रतिकूलता र ठाउँको अभाव देखाउँदै कन्टेनर नबढाउने चीनबाट सूचना आएको उहाँले बताउनुभयो तर गत महिना चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा नेपाल र चीनको उच्च अधिकारीबीच चीनले तातोपानी नाका, केरुङ नाकाबाट दैनिक २० चिनियाँ कन्टेनर सामान नेपाल पठाउने निर्णय भएको थियो।

उक्त निर्णय अझै कार्यान्वयन नभएको सीमापार वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो। पूर्ण रूपमा नाका खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतलाई ज्ञापनपत्र बुझाएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो।

नेपाल सरकारले चीन सरकारसँग नाका खुलाउन विशेष पहल गर्नुपर्ने र चिनियाँ सीमादेखि बाह्रबिसेसम्म भरपर्दो सडक निर्माण गर्नुपर्ने अध्यक्ष बस्नेतले सुझाउनु भएको छ।

उक्त नाकाबाट कपडा, इलोक्ट्रोनिक्स सामान, फर्निचर, स्याउ, लसुनलगायतका सामान आयात हुँदै गरेको थियो भने नेपालबाट चीनमा जडीबुटी, हस्तकलका सामान, मुढा, कुर्सी, खाद्यान्न निर्यात हुने गरेको छ।

prabhu mahalaxmi
kumari