सोमबारसम्म वर्षा र हिमपात हुन सक्ने
काठमाडौं। पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर मौसममा असर गर्ने आंकलन मौसम विज्ञान महाशाखाले गरेको छ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको बताइएको छ ।
महाशाखाका अनुसार यो प्रणालीका कारण सोमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यमस्तर सम्मको वर्षाको सम्भावना रहने छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने भएको छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने छ। साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।


























