प्रहरीको चुस्ता,बुट र व्याग ठेक्कामा चलखेल सुरू
काठमाडौं । नेपाल प्रहरीको पोशाक,सामान खरिद,निर्माण ठेक्कामा सधैं अनेकौं चलखेल र सेटिङभई ठूलो कमिशनको लेनदेन हुने गरेको छ।
प्रबन्ध महाशाखामा बस्ने असई देखि डिआइजी सम्मले यहाँ कार्यरत रहँदा करोडौ कमाउने भएकोले पनि प्रबन्धमा आउन आईजिपी देखि प्रधानमन्त्री सम्मको सोर्सफोर्स चल्ने गरेको छ ।
एकातर्फ विगतका आईजिपीले आफ्नो अति नजिकको र बिश्वासिलो डिआईजीलाई प्रबन्धमा ल्याएर उसै मार्फत ठेक्काको रकम लिने गरेको कसैबाट छुपेको छैन ।
कतिपय आईजीपी निवासमा सधै भोजभतेर गरेर मासिक पाँच लाख सम्मको रकम प्रबन्धको निरीक्षक मार्फत तिरेको घटना पनि सार्वजनिक भएका छन्।
नेपाल प्रहरीको प्रबन्ध महाशाखालाई बीरगंज भन्सारसँग तुलना गरिन्छ ।त्यसैले पनि नेपाल प्रहरी प्रबन्धमा आउन ठूलो सोर्सफोर्स र प्रतिशत तोकेर दिने शर्तमा आईजिपीले ल्याउने गरेको पनि सुनिन्छ ।
हालका आईजिपी शैलेश थापा क्षेत्री भष्टाचारमा बदनाम हुने गरि कतै मुछिएका छैनन। उनी यति चाहियो,उति चाहियो भनेर लेखाका अधिकारीलाई दुस्ख दिएको सुनिएको पनि छैन। आएको लिने तर यति लेउ,उति लेउ नभन्ने सजिला स्वाभावका भएकाले प्रबन्धक र लेखाका कर्मचारीले यो दुई वर्षमा राम्रै आम्दानी गरेका छन।
त्यही भएर आईजीपी थापाले प्रबन्धमा पुर्व आईजीपी ठाकुर प्रसाद ज्ञवालीले राखेका एसपी प्रेम बस्नेतलाई हटाएनन ।
आईजीपी थापाले अवकास हुन चानचुन चार महिना १० दिन बाँकी रहदा पनि अरू आईजीपीहरूले जस्तो प्रबन्धबाट कडिकडाउ गरि असार मसान्तसम्मको खरिद र निर्माण ठेक्काको काम टुंग्याउने र कमिशन रकम असुल्ने काम पनि गरेको सुनिएको छैन तर खरिद ठेक्का पाउने ठेकेदारहरूले भने विगतका बर्षहरूमा जस्तै थापाको कार्यकालमा पनि प्रतिशत तोकेर रकम भने बुझाएको बताउने गरेका छन् ।
प्रबन्धका एक अधिकारीहरूले घर बनाउदै छु,बुढालाई चित्त बुझाउन सकिएन भनेर ठेकेदारहरूसंँग रकम लिएको पनि ठेकेदारहरूबीच चर्चा हुने गरेको छ । आईजिपी थापालाई मात्रै होइन एआईजिपीलाई पनि भाग दिनुनपर्ने भए पछि प्रबन्धमा कार्यरत हाकीम सावहरूलाई एकलौटी कमाउने अवसर प्राप्त भएको छ।
प्रवन्धमा बसेपछि एसपी बस्नेतले टोलमा आलिसान महल मात्रै बनाएका छैनन दुईवटा घडेरी समेत खरिद गरेको कुरा पनि सार्वजनिक भएको छ। प्रहरी हेडक्वाटरको प्रबन्ध महाशाखा भ्रष्टाचारको अखडा हो भन्ने कुरामा कुनै बिबाद छैन ।
अहिले फेरि प्रहरीको लत्ताकपडा,बुट,व्यागको ठेक्का प्रक्रिया चलिरहेका बेला अनेकौं चलखेल भैरहेको छ। प्रहरीको सबैभन्दा ठूलो ठेक्का अहिले चलिरहेको छ। दुई लाख सत्तरी हजार मिटर चुस्ताको कपडाको टेण्डर खुलिसकेको छ। करिब १८ करोड बजेट रहेको उक्त चुस्ता खरिद टेण्डरमा पाँच वटा कम्पनीले टेण्डर हालेका छन् ।
जेएमबिडी र समृद्धि इन्टरनेशनलले १६ करोड ४४ लाख ४८ हजार ९ सय रूपैयाँमा टेण्डर हालेका छन् भने प्लसप्वाइन्टले १६ करोड ८१ लाख १० हजार १ सय रूपैयाँमा टेण्डर हालेका छन् । त्यसैगरी होराइन र कोहीनुर जेभीले १६ करोड ८१ लाख १० हजार १ सय रूपैयाँमा टेण्डर हाल्दा जयसलिनाले १७ करोड १४ लाख ६६ हजार २ सय रूपैयाँमा टेण्डर हालेको छ।
यसैगरी २३ हजार जोर डिएमएस बुट खरिदको टेण्डरमा पनि तीन कम्पनीले टेण्डर हालेका छन् । झण्डै ८ करोड बजेट रहेको यो टेण्डर प्रक्रियामा होराइनले ५ करोड १५ लाख ७२ हजार ८० रूपैयाँमा टेण्डर हालेको छ भने एसियन र प्लसप्वाइन्ट जेभीले ७ करोड १६ लाख २ हजार ४ सय ५० रूपैयाँमा टेण्डर हालेको छ । यसैगरि समृद्धि र तेजसमले मिलेर ७ करोड १६ लाख ८० हजार ४ सय २० रूपैयाँमा टेण्डर हालेको छ।
यसैगरी मंसिर–पुस– माघ–फागुनको जाडोमा लगाउनु पर्ने निलो उलनको सुइटर २० हजार थान खरिदको लागि चार वटा कम्पनीले टेण्डर हालेका छन् ।
झण्डै चार करोड बजेट रहेको उक्त टेण्डर पाउनको लागि टेण्डर हाल्नेहरूमा रामा ट्रेडिङले २ करोड ९० लाख ८६ हजार २ सय रूपैयाँ , होराइजनले २ करोड ९१ लाख ७६ हजार ६ सय रूपैयाँ, तेजसमले ३ करोड ३५ हजार ४ सय रूपैयाँ र एशियन र जयहनुमान जेभीले ३ करोड १ लाख ३ हजार २ सय रूपैयाँमा ठेक्का हालेका छन् ।
ट्राफिक ज्याकेट र प्रिन्टेड चुस्ता खरिदमा कसैको पनि टेण्डर परेको छैन। खरिद परिमाण संख्या कम रहेकाले धेरै कमिशन दिनुपर्ने भएकाले खरिद टेण्डर कसैले पनि नहालेका हुन।
रूटस्याग ब्यागका लागि क्यामोफ्यागले १ करोड ५६ लाख १४ हजार ३ सय ४० रूपैयाँमा ठेक्का हालेको छ। उक्त ब्याग ७ हजार थान माग गरिएको छ। नेपाल प्रहरीले मागेको डिएमएस बुटको टेष्टरिर्पोट भारतको नयाँदिल्ली स्थित इन्टरटेकमा मात्रै परिक्षण हुने भएकोले धेरै आर्थिक लेनदेन र चलखेल हुदै आएको स्रोतले बताएको छ।


























