citizens life insurance long ad
stcnepal long ad

प्रहरीको नियमावली संशोधनपछि पनि तल्लो वर्गमा अझै असन्तुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रहरी (नवौं संशोधन) नियमावली २०७८ गत माघ ३ गते सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका प्रहरी सहायक हबल्दार, प्रहरी बरिष्ठ हबल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।

नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि तीन वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषदबाट स्विकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानून सरहको मान्यता पाएको थिएन् ।

राजपत्रमा प्रकाशित ब्यवहोरा अनुसार प्रहरी जवानबाट प्रहरी हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार र असईको बीचमा प्रहरी वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सृजना गरिएको छ ।

प्राप्त विवरण अनुसार असईबाट सईमा बढुवाका लागि समस्या नभएकाले यी दुई दर्जाको बीचमा भने नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छैन । यो नियमसँगै अब करिब १८ हजारभन्दा बढी जुनियर अफिसर एकतह बढुवा हुने भएका छन् ।

यस्तै संशोधित नियमावली अनुसार कार्यालय सहयोगीको पनि पाँच श्रेणी कायम भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो ।

उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ । नेपाली प्रहरीमा भएको नियमावली संशोधनपछि प्रहरीभित्र नै जुनियर अधिकृतहरुको मत बाझिएको छ । बहुमत पक्ष यो नियमावली संशोधनले आफुहरुलाई अपमानित गरेको सार्वजनिक प्रतिक्रिया दिइरहेका छन् ।

उनीहरुले लामो समय जागिरपछि बढुवा त हुने तर एकतह कम भएर हुने एउटा तर्क राखेका छन् । अर्को भनेको जवान र हवल्दारको अवकाश अवधि १६ वर्ष बनाउन उनीहरुले माग गरेका छन् । यस्तै नियमावली संशोधनका लागि कार्यरत र लाभग्राहीसँग कुनै सोधपुछ नभएकोमा उनीहरुको गुनासो रहेको छ ।

यही सन्दर्भमा प्रहरी प्रवक्ता एसएसपी बिष्णुकुमार केसीले नियमावली राजपत्रमा प्रकाशित भएको दोस्रो दिन नै नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीको आधिकारीक धारणा सार्वजनिक गरेका थिए ।

गत मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थप गरिएको तीन पदले २० वर्ष देखि एउटै पदमा बसेर काम गर्ने प्रहरीमा उत्प्रेरणा जगाउने बताएका थिए ।

उनले नियमावली संशोधन तल्लो तहका प्रहरीको हितको लागि भएको जिकिर समेत गरेका थिए । एसएसपी केसीले प्रहरीमा थप गरिएका तीन पदले वृत्ती विकासको अवसर सबैले समान रुपमा पाउने अवस्था आउने दाबी गरेका छन ।

प्रहरीमा लामो समयसम्म पदोन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्थालाई यो संशोधनले हटाएको प्रवक्ता केसीले बताएका थिए । उनले पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनु साथै काम गर्ने प्रहरीको मनोवल उच्च बनाउने बताएका छन ।

प्रवक्ता केसीले तल्लो दर्जाका प्रहरी अधिकारीहरुले केहीले बुझेर र केहीले नबुझेर गुनासो गरिरहेको बताएका छन । उनका अनुसार हाल यो नियम लागू भएपछि बढुवामा प्राथमिकता पाउने समूह नै अर्को पटक एकतह बढुवाका लागि पहिलो समूह हुनेछ ।

यसबीचमा एकतह बढुवा र सोही अनुसारको सेवा(सुविधाले केही समयका लागि भएपनि उनीहरुको मनोबल बढाउने र उत्प्रेरण थपिने बिश्लेषण प्रहरी प्रधान कार्यालयको रहेको छ।

प्रहरीभित्रको सिमित दरबन्दीमा बढुवा हुने आकांक्षीको संख्या अत्याधिक भएकाले यो तारतम्य मिलाउन केही समय लाग्ने प्रहरी प्रधान कार्यालयको भनाई रहेको छ ।

भर्ना, बढुवा र अवकाशको बैज्ञानिक पद्धती स्थापनाका लागि समेत यी पदहरु थपिएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।

केही जेष्ठ सईहरु प्रहरी निरीक्षक हुने बेलामा वरिष्ठ सई र केही प्रहरी जवान प्रहरी हवल्दार हुने समयमा प्रहरी सहायक हवल्दार बन्नुपर्दा असन्तुष्ट छन । उनीहरू बढुवामा एक तह पछि पर्ने भएका छन। यस पटक बढुवा हुने उनीहरुनै अर्को पटक बढुवाको पहिलो दावेदार हो। केही बिषयमा कन्फियुजन छ । प्रहरी नेतृत्वले त्यही बुझाइरहेको छ। । यस्तै प्रहरी प्रधान कार्यालयले जुनियर अफिसरको १६ वर्षे पेन्सनका बिषयमा समेत गृह कार्य गरिरहेको बताएको छ ।

IME Life
kumari