नेसनल लाइफको ५७ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५७ हजार कित्ता बढी सेयर आजबाट लिलामीमा राखिएको छ। एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफको ५७ हजार १९२ कित्ता सेयर लिलामीमा राखिएको हो।
लिलामीमा राखिएको सेयरमा कानुनबमोजिम योग्य जो कोही लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ३८७.३० रुपैयाँ कायम गरिएको छ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ।
बोलपत्र काठमाडौंको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया बैंकको काठमाडौंको थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखामा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ५ गते बैंकिङ समयसम्म तोकिएको छ।

























