१०३ औँ स्थापना दिवस ललितपुर महानगरपालिकाले मनाउँदै
ललितपुर । आज १०३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी ललितपुर महानगरपालिकाले मनाउँदैछ ।
नेपालकै जेठो नगरपालिकाका रुपमा रहेको यस महानगरपालिकाले ८ बजेदेखि प्रभातफेरी कार्यक्रम गरेर विभिन्न कार्यक्रमको सुरुवात गर्दैछ।
दिवसका अवसरमा ललितपुरका ए, बी र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने महानगरपालिकाले जनाएको छ । यस्तै विभिन्न कार्यालयमा २५ वर्षभन्दा लामो समय काम गरेका कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान समेत गरिनेछ ।
दिवसका अवसरमा शुभकामना दिँदै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नागरिकलाई प्रविधियुक्त र झन्झटरहित सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
महानगरलाई सांस्कृतिक र पर्यटकीय सहरका साथै कला, संस्कृति र सम्पदाको सहरका रुपमा विश्व सामु परिचित गराउन आफू प्रयासरत रहेको पनि उहाँको भनाइ छ ।

























