एन्फाको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्का सहित कार्यसमितिका सात सदस्यले कार्यसमिति बैठक राख्नका लागि माग गरेका छन् ।
बैठक माग गर्नेमा चार केन्द्रीय सदस्यहरूमा किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा समेत रहेका छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले हिजो पुस १ गते बिहीबार एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठकको माग गरेका थिए। एन्फाको कार्यसमितिमा १७ सदस्य रहेको बताइएको छ ।
एन्फाको केन्द्रीय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन् । जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ । साथमा विधि प्रक्रियाविहिन ढंगबाट संघ सञ्चालन भइरहेको छ। बैठक माग गर्दै दायर गरिएको पत्रमा समेत यो कुरा उल्लेख गरिएको छ ।
आगामी २०७९ बैशाख महिनामा संघको साधारण सभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारण सभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको छ भनि पत्रमा भनिएको छ ।
पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन् ।
पटक–पटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेका कारण बाध्य भएर विधान अनुसार बैठक माग गरिएको संयुक्त पत्रमा उल्लेख गरिएको छ । अन्त्यमा ‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ ।

























