एक्यान र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य हुने
काठमाडौं । लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच हिजो सहकार्य सम्बन्धी समझदारी भएको छ।
दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदान–प्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका छन्।
समझदारीपत्रमा एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र महासंघका अध्यक्ष प्रेम श्रेष्ठले हस्ताक्षर गरेका छन्। समझदारी अनुसार दुवै संस्थाले वित्तीय नीति र प्रक्रियामा विभिन्न सरोकारवालासँग सहकार्य र संयुक्त रुपमा लबी गर्ने र दुवै पक्षलाई फाइदा हुने अनुकूल वातावरण सिर्जना गर्नेतर्फ मिलेर काम गर्ने सहमति भएको जनाइएको छ।
प्रशिक्षण, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने, महासंघ र मातहतका जिल्लास्तरमा गठित विभिन्न समितिहरुमा आवश्यकता अनुसार एक्यानको प्रतिनिधित्व गर्न पदेन सदस्य रहने व्यवस्था मिलाउने, दुवै संस्थाका प्रदेश तहका कार्यालय र समितिबीच समन्वय गरी आपसी समझदारी र सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ।
दुई वर्षका लागि गरिएको समझदारी अन्तर्गत एक्यानले महासंघका सदस्यलाई विषयगत तालिम पनि उपलब्ध गराउने भएको छ।
समझदारीबारे टिप्पणी गर्दै महासंघका अध्यक्ष श्रेष्ठले यसबाट महासंघमा आबद्ध ३६ जिल्लाका १० हजारभन्दा बढी सदस्यले चार्टर्ड एकाउन्टेन्टसहरुको विज्ञतामा आधारित सरसल्लाहबाट प्रभावकारी व्यावसायिक योजना बनाएर अघि बढ्न सक्ने बताएका छन।
एक्यानका अध्यक्ष वाग्लेले आफ्ना सदस्यहरुको विज्ञताबाट हेभी इक्विपमेन्ट व्यवसायीहरु लाभान्वित हुन सकुन् भन्ने उद्देश्यले नै सहकार्य गर्न लागेको बताए।
संघले सञ्चालन गर्दै आएको कर, बजेट, मौद्रिक नीति लगायत अन्य आर्थिक नीतिसम्बन्धी सचेतना कार्यक्रम महासंघका सदस्यमार्फत अघि बढाउन पनि यो सहकार्यले योगदान गर्ने उनको भनाइ रहेको छ।


























