सेयर बजारप्रतिको प्रचण्डको अभिव्यक्ति को विरोध
काठमाडौं । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विवेकशील साझा पार्टीले आज मंसिर २७ गते प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालय समेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ‘धितोपत्र बोर्डस् साम्राज्यवादको विकसित रूपु भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ।ु’
‘पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक–पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र संकुचित सोचाइको उपज हो।’
विवेकशिल साझा पार्टीले भनेको छ–’पुँजी बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ। यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ।’
त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गर्दछ।’
अर्थनीतिमा विश्वास गर्नु पर्छ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको शेयर बजार सम्वन्धी विवादित अभिव्यक्तिपछि लगानीकर्ताले ‘नो भोट’ अभियान पनि सञ्चालन गरिरहेका छन् ।
अर्थ मन्त्रालय सम्हाल्दै आएको नेकपा (माओवादी केन्द्र) पार्टीको पुँजी बजारप्रतिको दृष्टिकोण नकारात्मक हुँदा र अन्य ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस पनि शेयर बजारमा अवस्थाप्रति मुकदर्शक हुँदा लगानीकर्तामा निराशा बढेको छ ।
सामाजिक सञ्जालमा लगानीकर्ताहरुले पुँजी बजारमा जनताले गरेको लगानीको संरक्षण गर्नुपर्ने दायित्व सरकारको भए पनि सरकारमै रहेका दल र नेताहरुले नकारात्मक टिप्पणी गर्दै हिडदा विशेषगरी साना र नयाँ लगानीकर्ता हतोत्साहित हुन पुगेका छन् ।
सरकार र ठूला दलका नेताप्रति लगानीकर्ताको विश्वास टुट्दै जाँदा लगानीकर्ताले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको खोजी गरेको देखिन्छ भन्दै आक्रोस समेत पोखेका छन।
शेयर बजार समग्र अर्थतन्त्रको सुचक भएको र लगानीकर्ताले गरेकै लगानीका आधारमा उद्योगधन्दाको विकास हुने कुरालाई ठूला दलका नेताले बुझ्न नसकेको देखिन्छ ।
सरकार र सरकार सञ्चालन दलका नेताहरूले सकारात्मक भूमिका खेल्न नसके पनि नकारात्मक टिप्पणी गर्दै हिंड्नु नेताहरुको गैरजिम्मेवार शैली हो ।
सरकार र दलहरुप्रति लगानीकर्ताको विश्वास घट्दै गएको र आक्रोस बढ्दै गएको छ। यद्यपि लगानीकर्ताहरु सकेसम्म वार्तावाटै समस्याको समाधान गर्ने, उनीहरुलाई शेयर बजारबारे बुझाउने पक्षमा रहेका छन ।






















