कांग्रेसको १४ औं महाधिवेशनले १३५ सदस्य नेतृत्व चयन गर्ने,नीति विनाको महाधिवेशनमा के–के प्रस्ताव पेस हुन्छन् ?
काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा पुगेको छ । गत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको कांग्रेसले गत मंसिर २० सम्म छ वटा प्रदेश अधिवेशन पनि सम्पन्न गरिसकेको छ ।
प्रतिनिधि सभाका १६० वटा क्षेत्रमा क्षेत्रिय अधिवेशन र ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको बताइएको छ। प्रदेश नं २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ ।
प्रदेश नं १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा संस्थापनइतर निर्वाचित भएका छन भने अन्य प्रदेशमा संस्थापन निकटले नेतृत्व जितेका छन।
प्रदेश अधिवेशन गरेर कांग्रेस नेताहरु काठमाडौं फर्किएका छन् । प्रदेश अधिवेशनका लागि सम्बन्धित प्रदेश राजधानी गएका अधिकांश महाधिवेशन प्रतिनिधि पनि काठमाडौं आइसकेको अवस्था छ ।
कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म१४ ओैं महाधिवेशन गर्दैछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि) को इन्ट्री भने २१ गतेबाटै सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म कांग्रेसले ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको जनाको नाम इन्ट्री गरेको जनाएको छ ।
मतदाता नामावली प्रकाशन भने मंसिर २४ गते विहान १० बजे हुने कार्यक्रम रहेको छ । मंसिर २५ गते विहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ ।
मनोनयन पत्रमाथि पर्ने दाबी विरोध, दर्ता गर्ने र जाँचबुझ गर्ने समय मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म गर्ने कार्यक्रम रहेको छ । त्यस उपरको निर्णय मंसिर २६ गते विहान १० बजेदेखि १२ बजेसम्म गरिने भएको छ ।
उम्मेदवारको नामावली प्रकाशन गर्ने समय सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म रहेको छ । मनोनयन फिर्ता लिने समय २६ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म राखिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन अपरान्ह ५ बजेसम्म छ । मतदानको समय २७ गते विहान ८ बजेबाट तीन ठाउँबाट सुरु हुने जनाइएको छ ।
मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र पुलिस क्लबमा मतदान स्थल बनाइने भएको छ । १४ औं महाधिवेशनका लागि २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स राखिने छ ।
१३ औं महाधिवेशनमा ९ प्रकारका मतपत्र थिए भने यसपटक १२ प्रकारका रहेका छन् । सभापति, पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेशबाट निर्वाचित हुने सदस्य, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गता लागि छुट्टाछुट्टै मतपत्र बनाउने भएको छ ।
पार्टीको नीति र कार्यक्रम पेस नहुने
मंसिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुने कार्यक्रम रहेको छ । १४ औं महाधिवेशनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस गर्ने छन् ।
यस्तै यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णयसम्बन्धी अनुमोदन प्रतिवेदनहरू पेस गरिने छ ।
नेतृत्वमा छनोटका लागि मात्र हुन लागेको कांग्रेसको १४ औं महाधिवेशनमा विचार , नीति तथा कार्यक्रममाथि बहस हुने छैन । कांग्रेसले महाधिवेशनमा नीति तथा कार्यक्रम पनि पेस गर्ने छैन । कांग्रेसले १४ औं महाधिवेशनपछि मात्र नीति महाधिवेशन अलग्गै गर्ने भएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २०४६ पछि एउटै महाधिवेशनमा नेतृत्व र नीतिका बारेमा छलफल एवं निर्णय गर्दा नीति निर्धारणको काम ओझेलमा परेकाले यस पटक नयाँ नेतृत्व छनोटमै कांग्रेस महाधिवेशन विशेष रुपमा केन्द्रित हुने बताएका छन ।
नवनिर्वाचित कार्यसमितिले नीतिका विषयमा छलफल र निर्णय गर्न अर्को नीतिगत महाधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले यसअघि नै गरिसकेको प्रवक्ता शर्माले बताएका छन् ।
कति पदमा हुन्छ निर्वाचन ?
१४ औं महाधिवेशनले १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छ । कांग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति, २ महामन्त्री र मधेसी,थारू,आदिवासी जनजाति,दलित,महिला,मुस्लिम,पिछडिएको र खसआर्य कलस्टरबाट ८ जना सहमहामन्त्री चयन हुने छन्।
केन्द्रीय सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचित गरेका एक कोषाध्यक्ष हुने व्यवस्था रहेको छ । १४ औं महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) बाट ३५ जना निर्वाचित हुनेछ।
यस्तै महिलाबाट ८ जना, प्रत्येक प्रदेशबाट एक महिला सहित ३, दलितबाट ४ महिला सहित ९ जना, आदिवासी जनजातीबाट ७ महिला सहित १५ जना, खसआर्यबाट ६ महिला सहित १३ जना, मधेशीबाट ४ महिला सहित ९ जना, थारुबाट २ महिला सहित ४ जना, मुस्लिमबाट १ महिला सहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना केन्द्रीय सदस्य चुनिने छन् ।
महाधिवेशनमा अल्पसङ्ख्यक र अपाङ्गताबाट एक एक निर्वाचित हुने छन् भने केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्ने छन् ।
१४ औं महाधिवेशनबाट निर्वाचित हुने १३५ र सभापतिले मनोनित गर्ने ३३ गरी कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने विधानमा व्यवस्था गरिएको छ ।























