आज सिटिजन बैंक, कुमारी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा
काठमाडौं । तीन बैंकको वार्षिक साधारणसभा आज कात्तिक १६ गते हुँदैछ। सिटिजन्स बैंक इन्टरनेशनल लि., कुमारी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आज हुँदैछ।
सिटिजन्स बैंकको १५ औं वार्षिक साधारणसभा बैंकको प्रधान कार्यालय हात्तिसारमा साँझ ४ बजेबाट सुरु हुदैछ।
साधारणसभामा विशेष प्रस्तावको रुपमा संचालक समितिबाट प्रस्ताव गरेअनुसार चुक्ता पूँजीको १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने विषय समावेश गरिएको छ।
योसँगै बैंकको चुक्ता पूँजी र जारी पूँजी वृद्धिको प्रस्ताव समेत विशेष प्रस्तावकै रुपमा सभामा प्रस्तुत हुनेछ छ। सिटिजन्स बैंकको सो साधारणसभाले भविष्यमा हुने संभावित मर्जरको सम्पूर्ण अख्तियारी संचालक समितिलाई समेत प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
यसैगरी प्रस्तावित बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनसमेत गरी बैंकको सभामा ३.०८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पेश हुनेछ।
यस्तै बैंकको नियमावली अनुसार समूह ख का सर्वसाधारण सेयरधनीकोतर्फबाट संचालक समितिका प्रतिनिधित्व गर्ने २ संचालक पदको निर्वाचन समेत हुने बताइएको छ। लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको थियो। यसको अर्थ असोज २० गते असोज २१ गते घटस्थापना सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश र आज हुने सभामा भाग लिन योग्य भएका छन्।
कुमारी बैंकको साधारण सभा हुँदै
आज कार्तिक १६ गते कुमारी बैंकको २१ औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालमा हुँदैछ। सभा बिहान ११ः३० बजेबाट सुरु भएको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (कर सहित) अनुमोदन गर्नेछ। यही सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिक लगायतका प्रतिवेदन अनुमोदन गर्नेछ।
कुमारी बैंकले गत आर्थिक ८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै आजको सभामा भाग लिएका छन र लाभांश पाउन योग्य भएका छन्।
आज सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा
आज कार्तिक १६ गते सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिक साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सुरु भएको छ।
बैंकले विशेष प्रस्तावको रुपमा हाल कायम ३ अर्ब अधिकृत पूँजीलाई वृद्धि गरी ५ अर्ब कायम गर्ने, संचालक समितिले गरेको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस वितरणको विषयमा निर्णय गर्ने लगायतका विषय समावेश गरेको छ।
हाल कायम चुक्ता पूँजीमा १० प्रतिशत बोनस सेयर दिएपछि जारी तथा चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड माथि पुग्ने भएकोले सो प्रस्ताव समेत साधारणसभाले पारित गर्दैछ।
साधारणसभाले भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर जाने विषयको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत पारित गर्नेछ। साधारण प्रस्तावको रुपमा प्रस्तावित बोनस सेयर वितरण गर्दा लाग्ने ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको विषय पनि रहेको छ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक ५ गतेदेखि कात्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ कात्तिक ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै आजको सभामा भाग लिएका छन र लाभांश पाउन योग्य भएका छन्।
























