एनआईसी एशिया बैंक बन्यो नम्बर वान
काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खूद नाफा आर्जन गर्न सफल भएको छ । यो बैंकले समीक्षा अवधिमा १ अर्ब १८ करोड रूपैयाँ खूद नाफा आर्जन गरेको छ ।
पहिलो त्रैमासमा नबिल बैंकले १ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड तथा एनएमबी बैंकले १ अर्ब ४ करोड खूद नाफा आर्जन गरेका थिए । यी सबैलाई उछिन्दै एनआइसी एशिया बैंकले सर्वाधिक खूद नाफा आर्जन गरेको छ ।
यो बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) २१.३९ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, बैंकको वार्षिक प्रति शेयर आम्दानी रू. ३९.६५ रहेको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
यस बैंकले आ।व। २०७८्७९ को पहिलो त्रैमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू। २७७.८५ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेप तर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (रू. ६५.२९ अर्ब)ले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३११.४५ अर्ब पुर्याउन बैंक सफल भएको जनाएको छ ।

























