stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१३ जलविद्युत् आयोजना एउटै गाउँपालिकामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६
मेलम्ची ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना–ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । तर, ती आयोजनाको काम भने सुस्तगतिमा अघि बढिरहेको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेकोे जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्नहरुले पटकपडक अनावश्यक माग राख्दा काममा ढिलासुस्ती भइरहेको व्यवसायी रेशम स्याङ्बोले बताए ।

“लगानीकर्ताको मनोबल बढाउन सरकारले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने खाँचो छ,” उनले भने, “स्थानीयवासीको अवरोध र राजनीतिक खिचातानीले विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेका ती जलविद्युत् आयोजनाको काममा प्रगति हुन नसकेको हो ।

गाउँपालिकाभित्र अपर ब्रह्मायणी १५ मेगावाट, इन्टिग्रेटेड हाइड्रो ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ४६ मेगावाट, बिजी हाइड्रोपावर प्रालि ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ३६ मेगावाट पिपिए भएर निर्माणको क्रममा छन् ।

यी आयोजनामध्ये सबैभन्दा बढी काम गरेको अपर बलेफीले ७० प्रतिशत काम सम्पन्न भएको छ ।

त्यसैगरी, ग्रीनभेन्चर पावर लिमिटेड २३.५ मेगावाट, मुनलाइट हाइड्रो २२ मेगावाट, याम्बालिङ हाइड्रो ७.८ मेगावाट, घट्टेखोला साना जलविद्युत् आयोजना ९७० किलोवाटको आयोजनाको कामले अपेक्षा अनुसार गति लिन सकेको छैन ।

यसैगरी, राइजिङ हाइड्रो ९९० किलोवाट, सेवा हाइड्रो प्रालि १.५ मेगावाट, सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड ६५ मेगावाट र ४३ मेगावाट क्षमताको लोअर नेसम हाइड्रोपावर लिमिटेडले निर्माणको कामलाई सशक्तरूपमा अगाडि बढाउन सकेका छैनन् ।

जुगलकै वडा नं ५ मा युनिक हाइडेल ४.३ र ३.२ मेगावाट क्षमताका गेलुङखोला हाइड्रोपावर प्रालिले उत्पादन सुरू गरेका छन् । ट्रान्समिसन लाइनमा स्थानीयवासीको विरोधले गेलुङखोला हाइड्रोपावरबाट उत्पादित विद्युत् केन्द्रिय प्रसारणमा जोड्न समस्या परेको छ । आयोजनालाई नै प्रभावित पार्ने गरी केही स्थानीयवासीले राजनीतिक पूर्वाग्रहमा विभिन्न माग राख्दै अवरोध गरिरहेको आयोजनाका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठले बताए ।

“अवरोधका कारण प्रसारण लाइनमा विद्युत् जोड्ने कार्य रोकिएको छ”, उनले भने, “अवरोध हटाउन स्थानीय सरकारले चासो नदिएका कारण आयोजनाको काम नियमित सञ्चालन हुन नसकेको हो ।” आयोजना सुस्त हुनुमा स्थानीयवासी र आयोजनाबीच समन्वयको कमी देखिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् ।

“आयोजना निर्वाध सञ्चालन गर्न दिनु स्थानीयवासीको कर्तव्य हो”, उनले भने, “आयोजनाले पनि स्थानीयवासीको मागलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।” आयोजनाले स्थानीयवासीको मागलाई बेवास्ता गर्ने र स्थानीयवासीले हचुवामा अवरोध गर्ने गरेका कारण जलविद्युत् आयोजनाको निर्माण सुस्त हुन पुगेको उनको भनाइ छ । त्यसका लागि पालिकाले समन्वयको पहल सुरू गरेको उनले बताए ।   रासस

prabhu mahalaxmi
kumari