सुजाता निवासमा पौडेल र सिटौला
काठमाडौ । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आज लन्च सहित छलफल गरेकी छन्। कोइरालाले वरिष्ठ नेता पौडेल र सिटौलालाई ‘लन्च’ का लागि मण्डिखाटारस्थित घरमा बोलाएकी थिइन्। वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलासँग आफूले छलफल गरेको कोइरालाले बताइन्।
उक्त छलफलमा के कुराकानी भयो भन्नेबारे कोइरालाले खुलाउन चाहिनन्। ‘यसबारे म पछि भन्छु,’ उनले भनिन्।
वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले कोइरालाको निम्तोपछि लन्चका लागि नेताहरू पुगेको बताए। उहाँहरू करिब दुई घण्टा त्यहाँ बस्नुभयो। कोइरालाले दुई नेता मिलेर जान आग्रह गरेको र मिलेर शेर बहादुर देउवालाई हराउन सकिने बताउदै मिलेर नगए आफू पनि सभापतिमा उठने जानकारी गराएको बुझिएको छ।
कोइराला कांग्रेस महाधिवेशनमा सभापतिमा उठ्ने बताइरहेकी छन् । उनले २०७२ सालमा पनि कांग्रेस सभापतिमा उठ्ने बताएकी थिइन् तर अन्तिम समयमा पछि हटिन्।
महिलालाई कांग्रेसको नेतृत्वमा पुर्याउन आफूले सभापतिमा उम्मेदवारी दिने कोइरालाले निकट नेताहरूसँग भन्ने गरेकी छन्।
कोइरालाले आफू पनि सभापतिमा तयारी गरिरहेकोबारे वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई जानकारी गराएकी थिइन्। कांग्रेसको महाधिवेशन २०७८ भदौ १६ देखि १९ गतेसम्म छ। अहिले महाधिवेशन केन्द्रित छलफलहरू भइरहेका छन्।
























