stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

कोइराला परिवार भित्र विवाद डा. शेखर र शशांक नै सभापति उठने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad
काठमाडौं । नेपाली कांग्रेसको काेइराला परिवारमा भावी सभापतिमा उठने विषयमा विवाद बढन थालेकाे छ। काेइराला परिवारका डा. शशांक काेइराला, डा. शेखर काेइराला र सुजाता काेइराला नै सभापतिमा दावी गर्न थालेका छन्।
‘ डा.शशांक कोइरालालाई महामन्त्री छाड्नु मेरो ठूलो भूल थियो’, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महामन्त्री डा.शशांक काेइरालाका दाजु डा. शेखर कोइरालाले हालै एक अन्तर्वार्तामा भनेका थिए ।
पार्टीको १३औं महाधिवेशनमा महामन्त्रीमै दाबी गरेका डा.शेखरले अन्तिममा डा. शशांकका लागि गरेको त्यागलाई ‘भूल’ को रुपमा उल्लेख गरिसकेका छन् । यसर्थ १४ औं महाधिवेशनमा ‘भूल’ को पुनरावृत्ति गर्ने पक्षमा डा. शेखर छैनन् ।
सभापतिमा दावेदारी प्रस्तुत गरेका शेखरले शशांकलाई मात्रै होइन अरु नेताका लागि पनि आफूले ‘मैदान’ नछाड्ने प्रष्ट्याइसकेका छन् । उता भाइ शशांक पनि आसन्न महाधिवेशनमा सभापतिको दावेदार छन् ।
पार्टीभित्र शशांक भन्दा सिनियर रामचन्द्र पौडेल र प्रकाशमान सिंहको पनि दाबी सभापति मै छ । सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न आफूले मात्रै सक्ने दाबी गरिरहेका शशांक पनि ‘शेखर दा’ लाई वल पास गर्ने पक्षमा छैनन् ।
कांग्रेसवृत्तमा कोइराला परिवारभित्र अन्तिमसम्म एकता हुने आकलन गरिए पनि संकेत त्यस्तो छैन । शशांकले निकटस्थहरुसँग भनेका छन्, ‘सभापतिमा म नै पहिलो दावेदार हुँ । म होइन भने शेखरदा पनि होइन ।’ शशांकको यस्तो भनाइले कोइराला परिवारका निकटस्थहरुले निश्चय गरिसकेका छन्, ‘यसपटक कोइराला परिवार पनि एकैठाउँ नरहने भयो ।’
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीभित्र ‘विरासतका उत्तराधिकारी’ मानिने कोइराला दाजुभाइ बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिमा दावेदारी प्रस्तुत गरिरहेका महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखर एकले अर्कालाई कुनै हालतमा नछाड्ने गरी महाधिवेशनको तयारीमा होमिएका छन् ।
यही कारण विगतका केही महाधिवेशनमा एकताबद्ध देखिएको कोइराला परिवार १४ औं महाधिवेशनमा आपसमै भिड्ने निश्चित भएको छ । कोइराला परिवारबाट हालसम्म वीपी पुत्र शशांक, नोना पुत्र शेखर र गिरिजा पुत्री सुजाता कोइरालाले सभापतिमा लड्ने घोषणा गरिसकेका छन् ।
कोइराला परिवार निकट एक कांग्रेस केन्द्रीय सदस्य विगतमा भन्दा यस पटक घटनाक्रम धेरै अगाडि बढिसकेको बताउँछन् । ‘पहिलेजस्तो कोइरालाहरु एकै ठाउँ रहन्छन् भन्ने अवस्था रहेन । तीनै जनाको कुरा सुन्दा आपसमै ‘इगो’ बढेको देखिन्छ’, ती नेताले भने ।
कोइराला परिवारभित्र सल्कँदै गएको ‘इगो’ हालैको भने होइन । कोइराला परिवारभित्र लामो समयदेखि रहेको घरकलह राजनीतिक मैदानसम्म नपुगेको भए पनि यस पटक त्यो सतहमा आउने देखिन्छ । कांग्रेसभित्र कोइराला परिवारको विरासतको चर्चा छ तर कोइराला परिवारभित्रै चाहिं ‘वीपी’, ‘नोना’ र ‘जीपी’ मध्ये कसको विरासत जोगिने भन्ने प्रतिस्पर्धा छ ।
कोइरालाहरुकाे पुरानै कलह नेपाली कांग्रेसको स्थापनाकालदेखि नै वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच व्यक्तित्वको टकराव रहँदै आएको थियो । एकले अर्कालाई ‘राजापरस्त’ र ‘भारतपरस्त’ को आरोप लगाउने वीपी र मातृकाको झगडाका अनेका किस्सा राजनीतिक विश्लेषकहरुले इतिहासका पुस्तकहरुमा केलाएका छन् ।
कोइराला परिवारको ताजा कलहको बीउ पनि वीपीको पालासम्मै जोडिने निकटस्थहरु बताउँछन् । २०३९ सालमा वीपीको निधनपछि उनकी पत्नी सुशीलाले विराटनगरस्थित कोइराला निवासमा पाइला राखिनन् ।
पटक–पटक आफू विराटनगर जाँदा सुशीला भाउजूलाई विराटनगर निवास लैजान पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रयास त गर्थे तर सफल भएनन् । ‘शायद सुशीला आमाको अनिच्छाकै कारण प्रकाश र डा.शशांकलाई पनि मोरङको राजनीतिमा मोह भएन ।
उनीहरु मोरङसँग नजोडिएकै कारण गिरिजाबाबुको अधिक सहयोग शेखर र सुजातालाई भयो । यसले कुनै दरार उत्पन्न गरेको हुनुपर्छ ’, कोइराला परिवार निकटस्थ नेताले भने । उनको बुझाइमा राजनीतिमा गिरिजाप्रसादबाट पर्याप्त साथ सहयोग नपाएको र सत्तामा रहँदा पनि शेखर र सुजाताले जति अवसर नपाएको भाव वीपी पुत्रहरुमा लुकेको छ ।
कांग्रेसको नवौं महाधिवेशनमा पूर्वाञ्चल क्षेत्रबाट केन्द्रीय सदस्य रहेका वीपी पुत्र प्रकाश कोइराला विजयकुमार गच्छदारसँग पराजित रहे । सो महाधिवेशनमा गिरिजाबाबुबाट आफूलाई सहयोग नभएको गुनासो प्रकाशले गर्दै आएका छन् ।
यही गुनासो बढ्दै जाँदा प्रकाशले गिरिजाप्रसादले लिएको राजनीतिमा फरक मत मात्रै राखेनन्, राजाको मन्त्री बने र कांग्रेस त्याग्न राजी भए । कांग्रेसवृत्तका जानकारहरुका अनुसार पार्टी त्यागे पनि प्रकाशमा कांग्रेसको विरासत एकपटक ‘वीपी कै विरासत’ मा फर्काउने हुटहुटी बाँकी नै छ ।
त्यही हुटहुटीका कारण भाइ डा.शशांकलाई कांग्रेसको भावी सभापति बनाउन प्रकाशको पहल जारी छ । २०४८ सालमा कांग्रेसको सरकार बनेपश्चात गिरिजाप्रसादको निकटस्थ रहँदै डा. शेखर र सुजाताले राजनीति अगाडि बढाएका थिए ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्ति पाएका डा. शेखर गिरिजाप्रसादका अन्य निर्णयहरुमा पनि प्रभाव राख्थे । ‘गिरिजाबाबु सत्तामा रहुन्जेल शेखरदाले अत्यन्तै नजिकबाट सहयोग गर्नुभयो । यसका कारण सत्ताबाट हुने लाभमा आफूहरुलाई टाढा पारिएको भान वीपी पुत्रहरुलाई भएको हुनुपर्छ’, शेखरका निकटस्थले भने ।
कांग्रेसमा कोइराला क्याम्पमा रहेर राजनीति गरेका सबैलाई कोइराला परिवारभित्रको निरन्तरको टकराव बारे जानकारी छ । वीपीको निधनपछि पार्टीका निर्णयमा ‘सुशीला’ र ‘नोना’ मध्ये को हावी हुने भन्ने प्रतिस्पर्धा कांग्रेसमा सतहमै देखिन्थ्यो ।
कांग्रेस जानकारहरु छोरी सुजातालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने गिरिजाप्रसादको इच्छा र शेखरलाई राजनीतिक भूमिकामा स्थापित गर्ने नोनाको इच्छा मिलेको तर वीपीका पुत्रहरुले अभिभावकत्व महसूस नगरेको बताउँछन् ।
१२ औं महाधिवेशनबाट सुशील कोइराला कांग्रेस सभापतिमा आएपछि मात्रै वीपी पुत्र शशांकले अभिभावकत्व महसूस गरेको बताइन्छ ।
himalayan life insurance
igi long