citizens life insurance long ad
stcnepal long ad

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । माघ महिनाको सुरुवातदेखि बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार गत एक हप्तामा बैङ्कहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपियाँले बढेको छ भने कर्जा लगानी २० अर्ब रुपियाँले बढेको छ । अघिल्लो साता पनि निक्षेप सङ्कलन १० अर्बले बढ्दा कर्जा लगानी २१ अर्ब रुपियाँले बढेको थियो ।
माघ १० गतेसम्ममा बैङ्कहरूको निक्षेप सङ्कलन ३७ खर्ब ८४ अर्ब रुपियाँ पुगेको थियो भने कर्जा लगानी ३२ खर्ब ८८ अर्ब रुपियाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को छ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा यस्तो कर्जा २०.१ प्रतिशतले बढेको छ । सोही अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले
बढेको छ ।

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७/०७८ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार कर्जा प्रवाह बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११।४ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ११.३ प्रतिशतले, विकास बैङ्कहरूको कर्जा प्रवाह १५.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।

२०७७ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।२०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.९ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ को छ महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा १३.४ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १३.६ प्रतिशतले, रियल स्टेट कर्जा

(व्यक्तिगत आवासीय घर कर्जासमेत) ४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको छ ।

सो अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ प्रतिशतले बढेको छ ।
२०७७ पुसमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३१.९ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो ।

IME Life
kumari