अपर तामाकोशी ३ करोड १५ लाख नोक्सानीमा
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड १५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष पनि कम्पनी २ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा थियो । दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको यस कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिँदा विद्युत बिक्री गरेर आम्दानी बढाउन सकेको छैन ।
सोही कारण कम्पनी हालसम्म पनि नोक्सानीमा रहेको उल्लेख गरिएको छ । यता, कम्पनीले हाल आयोजनाको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको जनाएको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ८२ करोड २० लाख रुपैयाँ ऋणात्मक छ । पुससम्ममा हेर्दा कम्पनीको ४० अर्ब ८ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।
यस अवधिमा कम्पनीले अन्य स्रोत मार्फत १ लाख १६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३० पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २४ पैसा छ ।

























