इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने आज माघ ६ गते मंगलबार अन्तिम दिन हो । यस आइपीओमा मंगलबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो ।
कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०५ अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।
सर्वसाधारणले सोमबार साँझसम्म मागभन्दा १.८७ गुणा बढी आवेदन दिइसकेका छन् । आइपीओ भर्ने सर्वसाधारणको संख्या ११ लाख ७७ हजार ९२० जना पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म १४ करोड १९ लाख ९६ हजार ९२० कित्ताका लागि आवेदन परेको छ । कुल १४ अर्ब १९ करोड ९६ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।























