stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । पुस २१ गते । एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो ।

रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार अब नयाँ समस्या सिर्जना नभए फागुनसम्ममा प्रसारण लाइन तयार हुनेछ । प्रसारण लाइन तयार भएपछि तत्कालै २५ मेगावाटको सिङ्गटीखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

ठेकेदार कम्पनीसँग सन् २०१० मा निर्माण सम्झौता भएको यो आयोजनामा स्थानीयवासीको अवरोध मात्र जिम्मेवार थिएन । निर्माण गर्ने ठेकेदारको ढिलासुस्तीका साथै सामान आयातमा समस्याले पनि टावर निर्माणमा अवरोध हुँदै आएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।

अहिले झिँगाने र टेकनपुरमा रहेको स्थानीयवासीको अवरोध साम्य भएपछि भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावर कम्पनीले बाँकी रहेका छवटा टावर निर्माणलाई तीव्रता दिएको छ ।

प्रसारण लाइन आयोजना प्रमुख राजन ढुङ्गेलका अनुसार माघ पहिलो साताबाट ती टावर तयार गरेर तार टाँग्ने काम हुनेछ । कुल ४० किलोमिटर लामो प्रसारण लाइनमा १२५ वटा टावर रहनेछन् । ‘डबल सर्किट’ यो प्रसारण लाइन सम्पन्न गर्न करिब ४५ करोड रुपियाँ लागत लाग्ने आयोजना प्रमुख ढुङ्गेलको भनाइ छ ।

यस बाहेक सिङ्गटी सबस्टेसन र लामोसाँघु सबस्टेसनको स्तरोन्नतिका लागि थप १८ करोड रुपियाँ लागत लाग्ने छ । आयोजनाका अनुसार सिङ्गटी सबस्टेसन तयार भइसकेको छ भने लामोसाघुँको स्तरोन्नति जारी छ । ठेकेदार कम्पनीले बाँकी उपकरण भन्सार प्रवेशको प्रक्रियामा रहेको जनाएको छ ।

प्राधिकरण प्रसारण निर्देशनालय प्रमुख दीर्घायु श्रेष्ठले चाँडो प्रसारण लाइन तयार भएपछि सो क्षेत्रका जलविद्युत् आयोजनाले अब राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् पठाउन सक्ने बताउनुभयो । “लामो समयदेखिका विवाद समाधान भएर प्रसारण लाइन अब दुई महिनामा तयार हुने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “अब सो क्षेत्रका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा ल्याउने बलियो पूर्वाधार तयार हुँदैछ ।”

यो प्रसारण लाइनबाट २५ मेगावाट क्षमताको सिङ्गटीखोला जलविद्युत् आयोजना पहिलो लाभाग्राही हुनेछ । सो आयोजनाले प्रसारण लाइन तयार नभएकै कारण अयोजना सम्पन्न भएर पनि व्यावसायिक उत्पादन गर्न सकेको छैन ।

त्यसैगरी ४० मेगावाटको खानीखोला, छ दशमलव चार मेगावाटको सुरीखोला, ११ मेगावाटको तल्लो खारे जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

विभिन्न जलविद्युत् आयोजनाको विद्युत् सिँगटी सबस्टेसनमा ल्याएर जोडिनेछ । सो सबस्टेसन मार्फत यही प्रसारण लाइन हुँदै विद्युत् लामोसाँघु सबस्टेसनमा ल्याइनेछ । लामोसाँघुको विद्युत् भक्तपुर ल्याएर मूल वितरण प्रणालीमा मिसाइने संरचना प्राधिकरणको रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन ।

IME Lifesidebar
kumari