सानिमा बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा बैंकको ऋणपत्र भर्ने आज पुस १५ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले पुस १ गतेबाट ४० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये २४ लाख इकाई ऋणपत्र आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।
यसबाट सामूहिक लगानी कोषलाई ५% अर्थात् ८० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी १५ लाख २० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको हो ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गरेको हो ।
बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ दिएको छ ।
यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।
यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।
























