प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज पुस २ गते बिहीबारअन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ ।
इन्स्योरेन्सले मंसिर २९ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । प्रभु लाइफले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्काशन गरेको हो ।
यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।
लगानीकर्ताले मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सथै, मेरो सेयरको मोबाईल एपमार्फत पनि आइपीओ भर्न सकिने सीडीएसले जनाएको छ ।
प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।
हाल प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।























