देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद् बैठक अन्योल
काठमाडौं । आज आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई बोलाउनुभएको परिषद्को बैठकमा काँग्रेस सभापति देउवा सहभागी नहुने हुनु भएको हो । काँग्रेसले मङ्सिर २९ गते सरकारको विरोधमा गर्न लागेको प्रदर्शनको एक दिन अगाडी संबैधानिक परिषदको बैठक बोलाएकोप्रति काँग्रेस नेताहरुले आशंका गरेका छन् ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै काँग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने वा पार्ने ढंगले घरेलु अथवा बाह्य कुनैपनी भेला, छलफल या बैठक, प्राथमिकतामा नरहने बताउनुभएको छ ।
संबैधानिक आयोगहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग, मानवाधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरी तीन दर्जनभन्दा बढी पद रिक्त छन् ।
नियुक्तिको विषयमा प्रधानमन्त्री ओली र देउवाबीच पटक पटक भएका छलफलबाट सहमति जुट्न नसकेपछि परिषदको बैठक प्रभावित हुदै आएको छ ।
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने संबैधानिक व्यवस्था छ ।
परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान रहेकाले देउवा उपस्थित नहुने भएपछि आइतबारको बैठक पनि प्रभावित हुने देखिएको छ ।























