सार्क डिजिटल कमन करेन्सीबारे अध्ययन गर्न सुझाव
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्य रूपमा वृद्धि भएको र यसले वित्तीय पहुँचमा वृद्धि हुने बताउनु भएको छ ।
सन् २०२० का लागि सार्क फाइनान्स चेयर रहेको रिजर्व बैङ्क अफ इन्डियाले बुधबार सार्क राष्ट्रका केन्द्रीय बैङ्कका गभर्नरहरूको सहभागितामा भर्चुअल माध्यमबाट आयोजना गरिएको ४०औँ सार्क फाइनान्स ग्रुप मिटिङमा बोल्दै उहाँले सार्क फाइनान्सअन्तर्गतका केन्द्रीय बैङ्कहरूले डिजिटल कमन करेन्सी अवलम्बन गर्न सार्क फाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गभर्नर अधिकारीले नेपालको वर्तमान स्थिति एवं कोभड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवं त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाबारे जानकारी गराउनुभएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
त्यस क्रममा गभर्नर अधिकारीले नीतिगत दरमा कटौती, पुनर्कर्जाको सीमा वृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनिङ व्यवस्था, थप चालू पुँजीको व्यवस्था, कर्जाको पुनः तालिकीकरण, पुनर्संरचनालगायतका विषयबारे जानकारी गराउनुभएको थियो ।
बैठकमा नेपाल राष्ट्र बैङ्कलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैङ्कहरू अफगानिस्तान बैङ्क, बङ्गलादेश बैङ्क, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्भ बैङ्क अफ इन्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैङ्क अफ पाकिस्तान र सेन्ट्रल बैङ्क अफ श्रीलङ्काका गभर्नरहरू, डेपुटी गभर्नरहरू तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।
उहाँले बैठकमा आफ्ना विचार राख्दै कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कुल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको नीतिगत दायित्व कार्यान्वयन गरेको उल्लेख गर्दै रिजर्व बैङ्क अफ इन्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा समेत जानकारी दिनुभयो । आजको गोरखापञ दैनिकबाट























