ज्योति लाइफ इन्स्योरेन्सको नाफामा आकर्षक वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफ इन्स्योरेन्सले ७ करोड २२ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ९१.८७% ले बढी हो ।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ३ करोड ७६ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले संकलित प्रिमियम तथा जगेडा कोषमा भएको रकमलाई दीर्घकालिन र अल्पकालिन मुद्रा बजारमा परिचालन गरी ब्याज आर्जन गर्न सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
साथै, यसअवधिमा इन्स्योरेन्सको जीवन बिमा कोष र खुद बिमा शुल्कमा आकर्षक सुधार आएकाले पनि नाफा बढ्न थप सहयोग पुगेको हो । यसअवधिमा जीवन बिमा कोष १४७.०५% ले बढेर २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोष ९१ करोड ४६ लाख ५६ हजार रुपैयाँ थियो । ज्योति लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क पनि २८ करोड ४२ लाख ६४ हजार रुपैयाँबाट बढेर ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
यता, इन्स्योरेन्सको बिमा लेख धितो कर्जाबाट हुने आय पनि बढेको छ । अघिल्लो वर्ष २ लाख ५९ हजार रुपैयाँ रहेको बिमा लेख धितो कर्जाबाट हुने आय यस वर्ष ७८ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्मा चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी पनि गरेको छ । आइपीओ जारी भइसकेपछि ज्योति लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । असोज मसान्तसम्मा यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २३ पैसा छ ।























