अनलाइनबाटै सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि आवेदन दिन सकिने
काठमाडौं । अनलाईन मार्फत सिद्धार्थ बैंकले क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले कार्तिक १३ गतेदेखि उक्त व्यवस्था ल्याएको हो ।
क्रेडिट कार्डका लागि बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ । आवेदन पछि क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ ।
साथै, कार्ड तयार भइसकेपछि ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेस गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउन यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।






















